स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग   
स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग   
    • Bell Sanchar

    • ८ पुष २०८०, आईतवार

सुर्खेत

सुर्खेत वीरेन्द्रनगर–३ का मानकुमारी विकका ३० वसन्त बितेका छन् । उहाँ बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जानुहुन्छ । उहाँ पाककलामा पारङ्गत हुनुहुन्छ तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्नुहुन्छ । उहाँको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ ।

छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग नरहेको मानकुमारी बताउनुहुन्छ । उहाँभन्नुहुन्छ, “मैले होटेल सञ्चालन गर्न ‘कुक’को काम जानेको छु तर लगानी गर्ने ल्याकत नहुँदा विदेशिनुपर्ने बाध्यता छ सीप भएर मात्र नहुने रहेछ ।”

स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन मानकुमारी सरकारसँग माग गर्नुहुन्छ । “म स्देशमै बसेर आफूले जानेको सीप प्रयोग गर्न चाहन्छु । त्यसका लागि मलाई सहयोग चाहिएको छ, यसमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्यो”, उहाँले भन्नुभयो । मानकुमारीजस्तै वडा नं ३ की धना नेपालीले पनि सिलाइबुनाइसम्बन्धी सीप जान्नुभएको छ । उहाँले पनि आफ्नो सीप प्रयोग गर्ने वातावरण पाउनुभएको छैन । धनाको परिवारको आर्थिक अवस्था कमजोर छ । रोगका कारण श्रीमान् काम गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । घरपरिवारको जिम्मेवारी धनाको काँधमा छ । स्वदेशमै रोजगारीका लागि अनेक प्रयास गरे पनि नपाएपछि उहाँ पनि भारतमै गएर रोजगारी गर्नुहुन्छ । चार छोराछोरी, रोगी श्रीमान्का लागि धनाले भारतमा मजदुरी गर्नुको विकल्प छैन ।

“मैले सिलाइबुनाइको काम जानेको छु तर यहाँ काम नपाउँदा भारतमा मजदुरी गर्न बाध्य छु । एक वर्ष दुःख गरेर भर्खरै आएकी हुँ, उता कमाइ राम्रो हुँदैन, आफूले जानेको सीपको स्वदेशमै उपयोग गर्ने वातावरण बनाइदिनुपर्यो”, धनाले राज्यको ध्यानाकर्षण गराउँदै भन्नुभयो ।

धनामात्रै होइन अन्य युवाले स्वदेशमै गरिखाने वातावरण सिर्जना गरिदिन सरकारसँग माग गरेका छन् । उनीहरूले नजानेकालाई सीप सिकाउने र सीप जानेकालाई काम गर्ने वातावरण सृजना गर्न माग गरेका हुन् ।

विश्व आप्रवासन दिवसका अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको एक कार्यक्रममा सहभागी युवाले सीप र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने बताए । पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगारीमा पुरुषभन्दा महिला बढी सुरक्षा जोखिममा रहेका सहभागीको भनाइ थियो ।

साताकाे चर्चित
सम्बन्धित