हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात हुँदा किसान खुसी
हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात हुँदा किसान खुसी
    • Bell Sanchar

    • १८ माघ २०८०, बिहीबार

हुम्ला ।   

हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात हुँदा किसान खुसी भएका छन् । बुधबार दिनभर मौसम सफा भए पनि रातिदेखि जिल्लामा हिमपात भएको हो । उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा आज बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ ।

लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा रहेका किसानको मुहारमा खुसी छाएको किसान कर्ण बोहराले बताउनुभयो । यस पटकको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा समेत सहयोग पुगेको बोहराले बताउनुभयो ।

हिउँ नपर्दा चिन्तामा रहेका हुम्लाका किसानको मुहारमा महिनौँपछि आएको हिउँले भने खुसी ल्याएको बोहराको भनाइ छ । खेतबारीमा लगाएका बाली सुक्न थालेको समयमा हिमपात र वर्षा हुँदा सहज भएको हो । स्याउ ओखरका बिरुवा मात्र नभएर खडेरीले सुक्न थालेको जेठासी बालीलाई पनि बचाएको उहाँको भनाइ छ ।

“कात्तिके बाली लगाउन कठिन भइरहेको बेला यो पटक परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको छ”, किसान मुक्ति रावतले भन्नुभयो । किसान खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ परेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । हिमपात सुरु भएसँगै लिमीमा चिसो अत्यधिक बढेको बोहराले बताउनुभयो । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ ।

साताकाे चर्चित
सम्बन्धित