विराटनगर ।
नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । लघुवित्त ६० लाख महिलासँग जोडिएको भन्दै यो देशका लागि आवश्यक भएको कोइरालाले बताए ।
‘कल्पना गरौँ आज लघुवित्त नभएको भए ती ६० लाख मानिस के गर्थे, कसरी बस्थे ?’ आठ वटा वित्तीय संस्थाले मंगलबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘लघुवित्त यो देशमा चाहिन्छ भन्ने मान्यता राखेर अगाडि बढ्नुपर्छ ।’
उनले उद्यमशीलता विकासका लागि लघुवित्तले विनाधितो प्रवाह गर्ने ऋणलाई बढाउनुपर्ने पनि बताए । ‘धितो नलिएर पनि ऋण लगानी गरिरहनु भएको रहेछ, त्यसको मेकानिजम तपाईंहरूले नै बनाएर गर्ने हो,’ उनले भने, ‘ऋणसँगै सीप लघुवित्तले पनि दिनुभएको रहेछ, सीपलाई आजको दिनमा कस्तो चाहिन्छ त्यो कुरालाई ध्यान दिनुहोला ।’ उनले उद्यमशीलता विकाससँगै बजारको व्यवस्थापनमा पनि सहजीकरण गरिदिन आग्रह गरे ।
कोशी प्रदेश सांसद गयानन्द मण्डलले लघुवित्तलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले लघुवित्त संस्थालाई कम व्याजदरमा ऋण दिएर ग्राहक सदस्यलाई कम व्याजमा लगानी गर्ने बनाउनुपर्ने बताए । लघुवित्त संस्थाले कृषि क्षेत्रमा लगानीमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद ललिताकुमारी चौधरीले लघुवित्तले ग्रामीण क्षेत्रमा महिला सशक्तीकरणसँगै स्वरोजगार पनि बनाएको बताइन् । लघुवित्तको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ छ ।
अर्थशास्त्री डा. भेषप्रसाद धमलाले लघुवित्तले ग्रामीण क्षेत्रमा वित्तीय सेवासँगै महिला सशक्तीकरण पनि गरेको बताए । लघुवित्तले प्रवाह गरेको सानो–सानो ऋणको सदुपयोग गर्नेहरूले आर्थिक प्रगति गरेको उनले बताए ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बजारमा फैलिएको ऋण मिनाहाको हल्लाले लघुवित्त संस्थाहरू प्रभावित भएको बताए । राज्यले ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्ने बताउँदै उनले भने, ‘सरकार अहिले ऋण मिनाहा गर्न सक्ने अवस्थामा छैन सबैलाई थाहा छ, सरकारले गठन गरेको वार्ता समितिको निष्कर्ष पनि सार्वजनिक गरिदिनुपर्छ ।
लघुवित्त नहुँदा गरिब नागरिकलाई काम गर्न गाह्रो हुने उनले बताए । ‘ऋण भनेको जनताको पैसा हो, जनताको पैसा तिर्दैन भन्नु वित्तीय अपराध हो,’ उनले भने, ‘ऋण नतिर्न उकास्ने जो कोहीलाई कानुनको दायरामा ल्याउनु पर्छ ।’