राष्ट्रियसभाका सांसदद्वारा सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण   
    राष्ट्रियसभाका सांसदद्वारा सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण   
    • Bell Sanchar

    • २८ माघ २०८०, आईतवार

काठमाडौँ,

राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद महेशकुमार महराले सामाजिक न्याय र सुुशासनका लागि सबैले एक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वका घाइतेको अझै उपचार हुन नसकेको उल्लेख गर्दै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई चाडै निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनका लागि योगदान पुर्‍याएका जनयुद्धका घाइते र बेपत्ताका परिवारलाई बेवास्ता नगर्न आग्रह गर्दै द्वन्द्वका घाइते, बेपत्ता परिवारलाई न्याय हुने गरी काम गर्नुपर्ने माग गर्नुभयो ।

सांसद रामचन्द्र राईले निजामती ऐन नबन्दा राज्यको सङ्घीय तथा सुशासन कायम हुन नसकेको बताउनुभयो । उहाँले सुशासनलाई व्यवस्थित गर्न सरकारले महालेखा परीक्षक तत्काल नियुक्ति गर्नुपर्ने बताउँदै सरकारले आर्थिक मन्दी घटाउन पूँजीगत खर्च बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

सांसद राईले सरकारी कामकाजको प्रक्रिया झण्झटिलो भएको हुनाले भ्र्रष्टाचार मौलाएको उल्लेख गर्दै जनताको हित र सुविधालाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद अनिता देवकोटाले नेपाल संस्कृत विश्वविद्यालयको चार सय आठ बिघा जमिन अहिले पनि विश्वविद्यालयले नपाएको जनाउँदै जमिन उपभोगका लागि सरकारले पहल गर्नुपर्र्ने माग गर्नुभयो । उहाँले दाङलाई शैक्षिक हब बनाउने योजना सफल पार्न सरकारको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशको राजधानी दाङको विमानस्थल स्तरोन्नतिका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद उदयबहादुर बोहराले गत कात्तिक १७ गते गएको पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटलगायत धेरै जिल्लामा ठूलो धनजनको क्षति भएको बताउँदै अहिले पनि पुनःस्थापना कार्य प्रभावकारी हुन नकेको जानकारी गराउनुभयो । उहाँले भूकम्पपीडित जाडोले कठ्याङ्ग्रिएर निमोनियालगायतका रोगको शिकार भएकाले तत्काल उचित राहत र पुनथापनाका काम गर्न आग्रह गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित