नेप्से ४.७८ अंक बढ्यो
नेप्से ४.७८ अंक बढ्यो
    • Bell Sanchar

    • १५ चैत्र २०८०, बिहीबार

काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर २०३५.६४ को बिन्दुमा बन्द भएको हो । सातामा चार कारोबार दिन बजार खुलेकोमा मंगलबार र बिहीबार नेप्से बढेर बन्द हुँदा सोमबार र बुधबार दोहोरो अंकले घटेको थियो ।

बिहीबार बैंकिङ, होटल तथा पर्यटन सहित लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसूचकमा गिरावट हुँदा त्यसबाहेकका सबै उपसूचक बढेका छन् ।

निर्जीवन बीमा उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.४८ प्रतिशतले गिरावट भएको हो । उत्पादन तथा प्रशोधन उपसूचक २.४० प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि देखिए पनि ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.३६ अंकले घटेर ३५९.०९ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा समान्य वृद्धि हुँदा २ अर्ब ६२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५३ हजार १ सय ११ कारोबारमा ६५ लाख ४७ हजार ६ सय ३४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक १९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सूचीकृत भएपछि लगातार सातौं दिन पनि सेयर मूल्य १० प्रतिशतले बढेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य १ हजार कटे पनि बिहीबार केही सप्लाई आउँदा सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यस्तै गोर्खाज फाइनान्सको १६ करोड २० लाख र शिवम् सिमेन्टको १५ करोड ३९ लाखको सेयर कारोबार भएको छ ।

आज भएको कारोबारमध्ये हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र सर्वोत्तम सिमेन्टको सेयरमूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

यस्तै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ८.७३ प्रतिशतले बढेको छ । उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्तको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

साताकाे चर्चित
सम्बन्धित