वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालन   
     वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालन   
    • Bell Sanchar

    • १५ चैत्र २०८०, बिहीबार

पर्सा ,

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृतरूपमा सञ्चालन गरेको छ ।

सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई थप गुणस्तरीय र माध्यमिक शिक्षा परीक्षाको पूर्वतयारीस्वरुप महागरपालिकाले यस वर्षदेखि कक्षा ८ को एकीकृत परीक्षा सञ्चालन गरेको हो ।

संस्थागत विद्यालयहरुको छाता सङ्गठन प्याब्सन र एनप्याब्सनका प्रतिनिधि तथा महानगरपालिकाको शिक्षा समितिका पदाधिकारीको संयुक्त बैठकले चालु शैक्षिकसत्रबाट कक्षा ८ को परीक्षा एकीकृत रूपमा लिने निर्णयअनुसार आजदेखि कक्षा ८ को एकीकृत परीक्षा सुरु भएको छ ।

यही चैत २५ गतेसम्म सञ्चालन हुने एकीकृत परीक्षामा महागरपालिकाभित्रका ३६ सामुदायिक विद्यालयका तीन हजार एक सय ४१ र ८२ संस्थागत विद्यालयका दुई हजार चार सय ८५ गरी पाँच हजार छ सय ३६ विद्यार्थी सहभागी रहेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिनुभयो ।

‘पढाउने र सिकाउने काम शिक्षकको र मूल्याङ्कन गर्ने काम महानगरपालिकाको’ भन्ने नाराका साथ पहिलोपटक सञ्चालन गरिएको एकीकृत परीक्षाको प्रश्नपत्र महानगरपालिकाले तयार पारी विद्यालयमा पठाएको छ ।

महानगरपालिकामा सञ्चालित संस्थागत विद्यालयका विद्यार्थीको पूर्णाङ्क राम्रो देखिए पनि गुणस्तरीयता राम्रो नभएको पाइएपछि सामुदायिक र संस्थागत विद्यालयको एकीकृत परीक्षा सञ्चालन गरिएको प्रमुख कर्णले बताउनुभयो ।

यसैबीच पूर्वाधारको विकाससँगै दक्ष शिक्षकबाट नियमित शिक्षण सिकाइ हुन थालेपछि वीरगञ्जस्थित सामुदायिक विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

महानगरपालिकाका ३२ वडामा हाल ९१ सामुदायिक र एक सय सय ३८ संस्थागत विद्यालय सञ्चालनमा रहेको प्रमुख कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयमा ४३ हजार पाँच सय ६४ र संस्थागत विद्यालयमा ३३ हजार चार सय २४ विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय तहमा आफू निर्वाचित भएर आएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि धेरै प्रयास गरेकाले सुधार भएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

विद्यालय भवन, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध खानेपानी, कम्युटर प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, कालो बोर्डलाई हटाइ सेतो बोर्डको व्यवस्थादेखि डिजिटल माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

शिक्षकलाई विद्यालयमा नियमित बनाउन डिजिटल हाजरी तथा कक्षा सञ्चालन भए–नभएको महानगरपालिकाबाट निगरानी बढाउनुका साथै विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

शिक्षाको गुणस्तरमा सुधार र आवश्यक पूर्वाधारको विकास भएपछि महानगरपालिकाभित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

महानगरपालिकाभित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा पुस्तकालय, ई–लाइब्रेरी, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोशाला, शुद्ध खानेपानी, निःशुल्क सेनेटरी प्याड, आवश्यक कक्षा कोठासहित खेलमैदानको व्यस्थापनमा महानगरपालिकाले काम गर्दै आएको महागरपालिकाको शैक्षिक महाशाखाका प्रमुख कर्णले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा, अनुशासन र स्थानीय तहले आवश्यक सबै पूर्वाधार निर्माण गरेपछि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको शिक्षकहरू बताउँछन् ।

केही वर्ष अघिसम्म एक हजार पाँच सयको हराहारीमा विद्यार्थी सङ्ख्या रहेकामा अहिले विद्यार्थीको सङ्ख्या दोब्बर बढी अर्थात् तीन हजार पाँच सय पुगेपछि बाध्य भएर थप विद्यार्थीलाई अध्ययन गराउन नसकिएको उहाँले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित