अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ
अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ
    • Bell Sanchar

    • १७ चैत्र २०८०, शनिबार

काठमाडौँ,

नेपालका अनुसन्धानदाताहरूले अनुसन्धानलाई विकाससँग जोड्न सकेमात्र मुलुकले सही गति लिने बताएका छन् । नेपाल फिलोसोपिकल रिसर्च सेन्टर (एनपीआरसी) र अनुसन्धानदाता समाजले आज यहाँ आयोजना गरेको ‘चित्लाङ घोषणापत्रको पुनरावलोकन’ कार्यक्रमका वक्ताले देशको विकासका लागि अनुसन्धान क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

एनपीआरसीका अध्यक्ष डा तेजबहादुर कार्कीले दिगो विकासका लागि अनुसन्धानमा आधारित कार्यक्रम तय गरिनुपर्ने बताउनुभयो । “अनुसन्धानलाई प्राथमिकता दिएका कारण विश्वका धेरै मुलुक विकासको गतिमा अगाडि बढेका छन्, नेपालले पनि अनुसन्धान क्षेत्रलाई प्राथमिकता दिन सके देश विकासले गति लिन सक्थ्यो”, डा कार्कीले भन्नुभयो ।

डा दशरथ न्यौपानेले पूर्वीय दर्शनका ज्ञानलाई दस्तावेजीकरण गरेर अगाडि बढाउन सकेमात्र मुलुकले विकास हासिल गर्ने बताउनुभयो । पूर्वीय दर्शनका ज्ञानलाई दस्तावेजीकरण गर्न अनुसन्धानमुलक ‘जर्नल’ प्रकाशित गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा डा महेश्वरप्रसाद यादवले अनुसन्धानका नवीन विधा औँल्याउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“जति धेरै नयाँ कुरा ल्याउन सकिन्छ, त्यति नै देशको हितमा लगाउन सकिन्छ”, डा यादवले भन्नुभयो, अनुसन्धानदाता समाजका अध्यक्ष डा दिवतकुमार श्रेष्ठले शिक्षा पद्धतिमा आमूल परिवर्तन गर्न नयाँ खोज र अनुसन्धान आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा डा दीपक महत, डा एम सिलवाल, अधिवक्ता दीपकराज कँडेललगायतले अनुसन्धानलाई व्यापकता दिएर अगाडि बढ्न सकेमात्र देशको विकास हुने बताउनुभएको थियो । सो अवसरमा विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका ५० भन्दा बढी व्यक्तिको उपस्थिति रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित