पाठ्यपुस्तक सदरमुकाममा थन्किएपछि पठनपाठन प्रभावित   
  पाठ्यपुस्तक सदरमुकाममा थन्किएपछि पठनपाठन प्रभावित   
    • Bell Sanchar

    • २१ चैत्र २०८०, बुधबार

हुम्ला,

जिल्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ । शैक्षिकसत्र गत फागुन २ गतेदेखि सुरु भए पनि पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित भएको हो ।

एक सातादेखि जिल्लामा परेको भारी हिमपातका कारण सदरमुकाम सिमकोटमा पाठ्यपुस्तक थन्किएको भन्दै गत फागुन २३ गते नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराएको थियो ।

उपाध्यक्ष लामाका अनुसार कर्णाली करिडोरअन्तर्गतको सिमकोट–हिल्सा सडक खण्डमा हिमपात परेका आवागमन अवरुद्ध हुँदा पुस्तक सम्बन्धित विद्यालयमा पु¥याउन नसकिएको हो । पाठ्यपुस्तक अभावका कारण नाम्खा गाउँपालिकाका–१ देखि ६ र सिमकोट गाउँपालिकाका–७ र ८ मा रहेका विद्यालयको पठनपाठन प्रभावित बनेको सिमकोट–८ का वडाध्यक्ष कमलबहादुर बुढाले बताउनुभयो ।

सदरमुकाममा पुस्तक पुगे पनि बाटो अवरुद्धका कारण विद्यालयसम्म पु¥याउन नसकिएको सिमकोट–७ का वडाध्यक्ष बलवीर शाहीले बताउनुभयो । तत्काल सडकमा जमेको हिउँ पन्छाउनका लागि प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलसमक्ष अनुरोध गरिएको उहाँको भनाइ छ ।

नाम्खा गाउँपालिकाका १७ विद्यालयका एक हजार एक सय ५१ र सिमकोटका गाउँपालिका आठ विद्यालयका एक हजार चार सय ८७ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

छपाइमा ढिलाइ हुँदा समयमै पुगेन पाठ्यपुस्तक

जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले पुस्तक छपाइमा ढिलाइ गर्दा समयमै पाठ्यपुस्तक नपुगेको जिल्लामा ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलका प्रमुख धनजवा रोकायाले बताउनुभयो छ । उहाँका अनुसार सरकारले माध्यमिक तहसम्म निःशुल्क रुपमा दिँदै आएको पाठ्यपुस्तक केन्द्रले छपाइमा ढिलाइ गर्दा हुम्लामा आइनपुगेको हो । उहाँले हालसम्म १, २ र ५ कक्षाको पूरै थान पुस्तक छपाइमा ढिलाइ भएकाले विद्यार्थी पढाइबाट वञ्चित भएका बताउनुभयो ।

आफूले जिम्मा लिएको नाम्खा गाउँपालिकाका विद्यालयको एक हजार दुई सय थानमध्ये नौ सय थान र सिमकोट गाउँपालिकाको तीन हजार थानमध्ये दुई हजार दुई सय थान मात्र जिल्लामा आइपुगेको ढुवानीकर्ता रोकायाले जानकारी दिनुभयो । जिल्लामा आइपुगेका पाठ्यपुस्तकमध्ये सदरमुकाममा रहेका विद्यालयले लगिसकेका छन् । सदरमुकाम आसपास र नाम्खा गाउँपालिकाका केही विद्यालयका लागि आफूले बुझे पनि हिमपातका कारण गोदाममा थन्किएर वितरण गर्न नसकिएको रोकायाको भनाइ छ ।

हिमपातका कारण विद्यालयसम्म पाठ्यपुस्तक ढुवानीमा समस्या आएको भन्दै जनप्रतिनिधिले ध्यानार्कषण गराएकाले तत्काल हिउँ पन्छाउने तयारी भइरहेको जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित