बाँकेमा गुरुकुल विद्यालय सञ्चालन हुँदै   
   बाँकेमा गुरुकुल विद्यालय सञ्चालन हुँदै   
    • Bell Sanchar

    • २२ चैत्र २०८०, बिहीबार

बाँके , 

बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल विद्यालय सञ्चालनका लागि भवन निर्माणकार्य सुरु गरिएको छ । स्थानीयको अथक साथ सहयोग तथा दाताहरूको सहकार्यमा लामो समयको प्रयासपछि यहाँ गुरुकुल भवनको निर्माण सुरु भएको स्थानीय अजय साहनीले जानकारी दिनुभयो ।

“करिब पाँच वर्षको लगातार प्रयासपछि गुरुकुलको भवन बनाउने कार्यले सफलता पाएको छ”, साहनीले भन्नुभयो, “भवन निर्माणसँगै गुरुकुल सञ्चालनका लागि अन्य आवश्यक कार्यको पनि तयारी भइरहेको छ ।”

अहिलेको अवस्थामा आफ्नो धर्म, संस्कृति र समाज जागरणका लागि वेदमा आधारित शिक्षा पद्धतिको महत्व बढ्दै गएकाले आफूहरू गुरुकुल सञ्चालनका लागि निरन्तर रूपमा लागिपरेको उहाँको भनाइ
छ ।

गुरुकुल सञ्चालनका लागि स्थानीय युवा लाग्नु सकारात्मक कुरा भएको पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गजेन्द्रबहादुर हमालले बताउनुभयो । उहाँले गुरुकुल सञ्चालनका लागि आफूले आवश्यक सहयोग र समन्वय गर्दै आएको बताउनुभयो ।

गुरुकुल भवन निर्माणका लागि लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठको पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको छ । भवनका लागि आवश्यक जग्गा खरिद गरेर भवन निर्माणको कार्य ठेक्कामार्फत सञ्चालन भएको छ । नेपालगञ्जका एक दाताले जग्गा खरिदका लागि आवश्यक रकम सहयोग गरेपछि भवन निर्माण प्रक्रियाले सफलता पाएको हो ।

भवन निर्माणका लागि प्रदेश सरकारले रु ३० लाख बजेट उपलब्ध गराएको जिल्ला समन्वय समितिका निवर्तमान सदस्य चेतबहादुर घर्तीले जानकारी दिनुभयो ।

“गुरुकुल शिक्षा एकदमै जरुरी छ, समुदायमा धार्मिक ज्ञान कम भएकाले आपसमा मतभेद छ”, घर्तीले भन्नुभयो, “यस्तो गुरुकुलले अध्ययन गर्ने व्यक्तिमा धार्मिक ज्ञान प्रदान गर्छ र व्यक्ति आफ्नो धर्मको बारेमा जानकार बन्छ ।” अहिले मानव मानवबीच व्यवहारिकता र धर्मबारे ज्ञानको कमी भएकाले धार्मिक शिक्षाको आवश्यकता रहेको सदस्य घर्तीको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित