पृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम   
पृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम   
    • Bell Sanchar

    • ३० बैशाख २०८१, आईतवार

तनहुँ

पृथ्वी राजमार्गअन्तर्गतका होटल व्यवसायीलाई दक्ष तथा सेवा प्रभावकारी बनाउने उद्देश्यले पर्यटकमैत्री सेवा तालिम आजदेखि दमौलीमा सुरु भएको छ ।

पर्यटकलाई सहज र होटल व्यवसायलाई सरसफाइयुक्त बनाउन राजमार्गका साथै तनहुँका होटल व्यवसायीलाई पर्यटकमैत्री सेवा तालिम दिइएको हो । तनहुँको सदरमुकाम दमौलीमा होटल पर्यटनकर्मीलाई दुईदिने ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम दिएर प्रभावकारी बनाउन लागिएको होटल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गका साथै मर्स्याङ्दी करिडोरअन्तर्गतका होटल तथा रेष्टुरेन्ट व्यवसायीको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गरी तालिम प्रदान गरिएको अध्यक्ष चोखालले बताउनुभयो ।

व्यवसायी र कर्मचारीलाई स्वच्छ तथा पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी तालिममा तनहुँ, गोर्खा र चितवनको सङ्गमस्थल मुग्लिनसम्म लम्बिएको मर्स्याङ्दी करिडोरका ६० पर्यटनकर्मी सहभागी रहेको महासङ्घ गण्डकीका महासचिव देवेन्द्र लम्सालले बताउनुभयो । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नसके मात्र ठूलोमात्रामा रोजगारी सिर्जना हुने र मुलुकको अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले तालिम सञ्चालन गरिएको महासङ्घले जनाएको छ ।

तालिमको सहजीकरण नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटक बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठलगायतले गर्ने प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले बताउनुभयो ।

तालिममा सहभागीलाई खाद्य स्वच्छता, सरसफाइ तथा पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध व्यवसायको प्रचारप्रसार तथा प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणलगायतका विषयमा जानकारी दिइनेछ । होटल व्यवसायी महासङ्घ गण्डकी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना र होटल व्यवसायी सङ्घ तनहुँको सहआयोजनामा तालिम सञ्चालन गरिएको हो ।

साताकाे चर्चित
सम्बन्धित