सङ्घद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण  
सङ्घद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण  
    • Bell Sanchar

    • ९ जेष्ठ २०८१, बुधबार

काठमाडौँ

नेपाल नेत्रज्योति सङ्घले अमेरिकास्थित ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन सस्थाको आर्थिक सहयोगमा काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीका लागि चस्मा (सन ग्लास) हस्तान्तरण गरेको छ । कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरीलाई धुवाँ, धुलो तथा घामको समस्याबाट जोगाउन सङ्घले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई हजार चस्मा हस्तान्तरण गरेको हो ।

आज यहाँ आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त र ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले संयुक्तरुपमा काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई ती चस्मा हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा सङ्घका अध्यक्ष पन्तले बढी समय धुवाँ, धुलो र प्रत्यक्ष प्रकाशका किरणमा सेवा गर्नुपर्ने ट्राफिक प्रहरीका आँखामा समस्या आउन नदिन चस्माले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि पनि सवारी चालकको नियमित आँखा परीक्षण गरिनुपर्ने र यसकार्यमा सङ्घलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको आँैल्याउनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलले ट्राफिक प्रहरीको समस्या बुझी उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीका लागि चस्मा हस्तान्तरण गरेकामा सङ्घ र ह्याल्पिङ ह्यान्डलाई धन्यवादसमेत व्यक्त गर्नुभयो । ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष श्रेष्ठले दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन र सुरक्षामा निरन्तर सेवा प्रवाह गर्नुहुने ट्राफिक प्रहरीहरुको आँखाको सुरक्षाका लागि आफ्नोतर्फबाट केही सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले यसप्रकारका सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सङ्घका सचिव वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, ह्याल्पिङ ह्यान्डका देशीय निर्देशक पशुराम दाहाल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतको समेत उपस्थिति रहेको थियो । सङ्घका कार्यकारी निर्देशक डा मिश्रले सङ्घअन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिनुभयो । सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् ।

स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित