महानगरलाई नीतिगत सहयोग गर्ने सांसदहरुको प्रतिबद्धता   
महानगरलाई नीतिगत सहयोग गर्ने सांसदहरुको प्रतिबद्धता   
    • Bell Sanchar

    • २८ जेष्ठ २०८१, सोमबार

पाटन (ललितपुर)

ललितपुरबाट निर्वाचित सङ्घीय प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले नागरिकमैत्री सेवाप्रवाहका लागि ललितपुर महानगरपालिकालाई नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा महानगरद्वारा आज आयोजित ललितपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसँगको अन्तरक्रियामा उहाँहरुले पुँजीगत खर्च वृद्धि गर्न स्थानीय सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

पूर्वअर्थ राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले अर्थतन्त्र चलायमान बनाउने नीति ल्याउनुपर्ने बताउनुभयो । “नागरिकलाई सेवा दिन, समस्या समाधान गर्न हरतरहले सहयोग गर्छाैंँ, पुँजीगत खर्च वृद्धि होस् । उपत्यकाको फोहरमैला व्यवस्थापनलाई बढी ध्यान दिनु जरुरी छ । स्थानीय सरकारलाई सहयोग र समर्थन गर्ने हाम्रो दायित्व हो ।” उहाँले भन्नुभयो । उहाँले महानगरभित्रको पार्किङ व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने बताउँदै ‘अन्डरग्राउण्ड’ पार्किङलाई व्यवसायिक बनाइ करको दायरामा ल्याउन सुझाव दिनुभयो ।

प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले नागरिकको सन्तुष्टिको आधारमा कर सङ्कलन गर्ने र सङ्कलित करलाई प्रभावकारी रुपमा खर्च गर्न सुझाव दिनुभयो । “महानगरले ढल व्यवस्थापनलाई ध्यान दिनुपर्ने छ, ढलबाट फैलिएको फोहरले धापाखेल र वडा नं ४ को मल पोखरीमा समस्या देखिएको छ, सांस्कृतिक सम्पदा संरक्षणमा प्रभावकारी नीति आवश्यक छ, रुद्रायणी र रातो मच्छिन्द्रनाथको मन्दिर निर्माणमा ढिला भएको छ”, डा कार्कीले भन्नुभयो । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले नीति तथा कार्यक्रम र बजेट भौतिक पूर्वाधारमा केन्द्रीत भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रदूषण न्यूनीकरणका लागि नीति तथा कार्यक्रममा समेटेर साइकलको प्रयोगलाई प्रोत्साहन गर्न सुझाव दिनुभयो ।

प्रतिनिधिसभा सदस्य रोशन कार्कीले सरकारी स्वामित्वको रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणलाई बिक्री गर्नबाट महानगरले रोक्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारी विद्यालयको स्तरोन्नति गर्न, महानगरभित्र जन्मने बच्चाको जन्मदर्तालाई सहज बनाउने नीति बनाइनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले दिगो विकास लक्ष्य र सम्पदा संरक्षणमा महानगरले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले अमुर्त सम्पदा र संस्कृति संरक्षणमा महानगरले निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले नगरभित्रका खेतीयोग्य जमिनलाई उपयोग हुने गरी कृषि क्षेत्रमा एक वडा एक उत्पादनलाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सङ्घ, प्रदेश र स्थानीय तहले जनताको आवश्यकता पुरा हुने गरी नीति तथा कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो । उहाँले ढु्ङ्गेधारा संरक्षणका लागि राजकुलोलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । महानगरप्रमुख चिरीबाबु महर्जनले सांसदहरुको सुझाव सुनिसकेपछि सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा बोलपत्र गर्ने नीति लिनु नहुने बताउनुभयो । उहाँले यस विषयमा संसद्मा आवाज उठाएर कानुनी रुपमा लागू गर्न आग्रह गर्नुभयो ।

“सङ्घीय सरकारको कमजोरीका कारण हामीलाई गाली गर्ने अवस्थाको अन्त्य गरिदिनुस्, सार्वजनिक खरिद ऐन २०६३ देश विकासको बाधक छ, यसले ठेकेदार मोटाउँछ, देशको विकास हुँदैन, यसलाई सुधार गरिदिनुस्, उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि सङ्घीय सरकारले गरेको सम्झौता बाधक छ”, उहाँले भन्नुभयो । प्राप्त सुझावका आधारमा सम्पदा, वातावरण संरक्षण र नगरविकासका सम्बन्धमा आगामी वर्षको नीति तथा योजना तय गरिने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले राख्नुभएको जिज्ञासाको जवाफ दिनुहुँदै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्राप्त सुझावलाई समेटेर जनताको मर्म सम्बोधन हुनेगरी सहकार्य, सहअस्तित्वको आधारमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले खानेपानी समस्यालाई विशेष ध्यान दिएर प्राथमिकताका साथ बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित