कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन   
  कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन   
    • Bell Sanchar

    • २८ जेष्ठ २०८१, सोमबार

काठमाडौँ,

सङ्घीय प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु फर्छ्यौट तथा सरकारी बाँकी सरह असुलउपर गर्ने काम प्रभावकारी नभएकाले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौटको अवस्था र समस्या समाधानका लागि अर्थ मन्त्रालय, महालेखापरीक्षकको कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयसँग समितिले आज छलफल गरेको थियो । आजको छलफल तथा बैठकमा बेरुजु फर्छ्यौट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्न देखिएका समस्या समाधानका लागि निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

“देशमा बेरुजु क्रमशः बढोत्तरी हुँदै गइरहेको छ भने आर्थिक वर्ष २०५९/६० सम्मका बेरुजुको लगतकट्टा तथा सरकारी बाँकी सरह असुलउपर गर्नुपर्ने काम अझै बाँकी रहनुले हाम्रो विगत, वर्तमानको आर्थिक सुशासन र वित्तीय अनुशासनको अवस्था चित्रित गर्दछ”, सभापति पोखरेलले भन्नुभयो, “पुराना असुलउपर गर्नुपर्ने बेरुजुलाई निश्चित समयभित्रै फर्छ्यौट नगरे आगामी दिनमा बेरुजुको आयतन बढ्ने निश्चित छ ।”

बैठकले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्थापन गर्न र आवश्यकपर्ने जनशक्ति थप गरी तत्काल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न/गराउन निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौट समितिको सचिवालयको रुपमासमेत केन्द्रीय तहसिल कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्य शीघ्र तोक्न र समितिको कार्यालय तत्काल व्यवस्थापन गर्न समितिले निर्देशन दिएको हो । असुलउपर गर्नुपर्ने पुराना अभिलेख सुरक्षित राख्नुपर्ने र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय भाडामा रहेकोले यस्ता अभिलेख संरक्षण गर्न चुनौती हुने समितिले जनाएको छ । कार्यालयलाई शीघ्र सरकारी खाली भवन उपलब्ध गराउनसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्दासमेत सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षमा त्रुटी रहेको भन्ने विषयमा दुईवटा टोली बनाइ अध्ययन गर्ने निर्णय गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित