काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिगत जलस्रोतको पुनर्भरण र जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। विश्व पानी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले भविष्यमा उत्पन्न हुनसक्ने जलसंकटको चुनौतीलाई दृष्टिगत गर्दै आहाल, पोखरी तथा तालतलैयाको निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्।
राष्ट्रपतिले ग्रामीण भेगमा जलस्रोतको संरक्षण तथा सहरी क्षेत्रमा वर्षात्को पानी पुनर्भरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सम्बद्ध निकायहरूलाई अग्रसर हुन आह्वान गरे। ‘प्राचीन एवं आधुनिक प्रविधिको संयोजन गरी जलाशययुक्त योजनाको तर्जुमा गर्न आवश्यक छ,’ राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।
उनले भूमिगत जलस्रोतलाई पारिस्थितिकीय प्रणालीका लागि महत्वपूर्ण प्राकृतिक सम्पदा बताउँदै यसले नदीको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानीको सुनिश्चितता गर्न योगदान पुर्याउने बताए।
राष्ट्रपतिले सहरीकरण, भौतिक पूर्वाधार विस्तार तथा जलवायु परिवर्तनका कारण पानीका स्रोत नष्ट हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘भूमिगत जलस्रोतको अतिदोहन तथा सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न भई जमिनमुनिको पानीको सतह घटिरहेको छ,’ उनले भने।
राष्ट्रपतिले जलस्रोत र नदी प्रणालीको संरक्षण गर्दै समयमै पूर्वसूचना प्रणालीमार्फत प्राकृतिक विनाश तथा जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताए। साथै, उनले पानी संरक्षण तथा सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाउने गरिएको छ। यस वर्ष ‘हिमनदी संरक्षण’ नाराका साथ देशभर विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ।