काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएका छन्।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धि जस्ता संवैधानिक लक्ष्य हासिल गर्न नेपाल सरकारको सक्रियता आवश्यक रहेको बताए।
उनले उपलब्ध स्रोतसाधनको उचित परिचालन गर्दै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको प्रभावकारी कार्यान्वयन बाट मात्र राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न सकिने उल्लेख गरे।
राष्ट्रपति पौडेलले नेपालको संविधानका मुलभूत मर्म र भावनालाई आत्मसात गर्दै नीति तथा कार्यक्रमहरू लागू गर्न सरकारलाई आग्रह गरे। साथै, उनले नेपाल सरकार आगामी दिनमा अझ सक्रिय र क्रियाशील भई राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे।