आज स्वस्थानी व्रत समापन, एक महिना लामो धार्मिक अनुष्ठान विधिपूर्वक सम्पन्न हुँदै
आज स्वस्थानी व्रत समापन, एक महिना लामो धार्मिक अनुष्ठान विधिपूर्वक सम्पन्न हुँदै
    • बेल संचार

    • १८ माघ २०८२, आईतवार

काठमाडौँ ।

माघ शुक्ल पूर्णिमाका दिन आज देशभर एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि सुरु गरिएको स्वस्थानी व्रत कथा आज मध्याह्नकालपछि औपचारिक रूपमा टुंग्याइँदै छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले एक महिनासम्म नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै स्वस्थानी व्रत बसेका थिए । सोही अवधिमा स्कन्द पुराणअन्तर्गतको केदार खण्डमा आधारित माघ माहात्म्य—कुमार र अगस्त्य ऋषिबीचको संवाद—स्वस्थानी कथा रूपमा वाचन तथा श्रवण गरिँदै आएको थियो, जसको आज अन्त्य गरिँदै छ ।

विधिपूर्वक व्रत बसेका बर्तालुले आज १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, दीप, नैवेद्य, श्रीखण्ड, चन्दन, सिन्दूर, वस्त्र तथा भेटी अर्पण गरी देवी स्वस्थानीलाई अघ्र्य दिने धार्मिक विधि पूरा गर्छन् । चढाइएका प्रसादमध्ये निश्चित भाग पति, छोरा वा मित छोरालाई प्रदान गरी बाँकी प्रसाद पवित्र नदीमा विसर्जन गर्ने परम्परा रहेको छ ।

व्रत समापनको अघिल्लो रात बर्तालुहरूले फलाहार गर्दै जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने–सुनाउने चलन छ । यसो गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । ‘स्वस्थानी’ शब्दले आफू बसेको स्थानकी देवी भन्ने अर्थ जनाउने र आत्मसाधनासँग यसको गहिरो सम्बन्ध रहेको धार्मिक मान्यता छ ।

धार्मिक ग्रन्थअनुसार सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी देवी स्वस्थानीको पूजा गर्दा रोगव्याध नाश हुने, बिछोड भएका जोडीको पुनर्मिलन हुने र इच्छाअनुसार वर प्राप्त हुने विश्वास गरिन्छ । सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको कथा पनि ग्रन्थमा उल्लेख छ ।

इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले स्वस्थानी व्रतको प्रभावबाट पुत्र वियोगबाट मुक्ति पाएको र उनका पुत्र नवराज लावण्य हालको साँखु क्षेत्रका राजा बनेको कथा पनि स्वस्थानी व्रतसँग जोडिएको छ, जसले साँखु क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वलाई उजागर गर्छ ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नकालपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरिन्छ । त्यसपछि रात्रिकालीन जाग्राम बसेर भोलिपल्ट बिहान फूलपाती नदीमा सेलाएसँगै यस वर्षको स्वस्थानी व्रत औपचारिक रूपमा समाप्त हुन्छ ।

यसैबीच, उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । यस व्रतमा १६२ महिला र १५ पुरुष सहभागी थिए । माघ शुक्ल पूर्णिमाको दिनलाई नेवार समुदायले ‘सि पुन्हि’का रूपमा मनाउने परम्परा पनि रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित