काठमाडौँ ।
धरानबाट सुरु भएको हर्क साम्पाङ नेतृत्वको श्रमदान अभियान काठमाडौँसम्म आइपुगेको छ । श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोलामा सरसफाइ अभियान सञ्चालन गरेका छन् ।
अभियानमा पार्टीका नेता तथा काठमाडौँ–४ का उम्मेदवार डा. वरुण अमात्यसँगै स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको छ । अमात्यका अनुसार पार्टीले अघि सारेको श्रम संस्कृति र नेतृत्वको निर्देशनअनुसार सरसफाइ अभियान सञ्चालन गरिएको हो । पार्टीले यस अभियानमा सक्रिय समूहलाई ‘श्रम सेना’ नाम दिएको छ ।
डा. अमात्यले काठमाडौँ–४ का बासिन्दाले पहिलेदेखि नै सुरु गरेको सरसफाइ अभियानमा आफूहरू जोडिएको जानकारी दिए । उनका अनुसार धोबीखोलामा हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको छ ।
उनले यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई समाज र वातावरण संरक्षणका लागि गरिएको स्पष्ट पारे । “यो अभियान निरन्तर चलिरहन्छ, चुनावसँग जोडेर मात्र हेर्नु हुँदैन,” उनले भने ।
अमात्यका अनुसार आगामी दिनमा पार्टी अध्यक्ष हर्क साम्पाङलाई समेत काठमाडौँको सरसफाइ अभियानमा सहभागी गराउने प्रयास भइरहेको छ । यसैबीच, आगामी निर्वाचनका लागि हर्क साम्पाङले धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचनमा सहभागी हुन लागेको जानकारी पनि उनले दिए ।