काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ गरिसकेको छ। आयोगका अनुसार हालसम्म २५ जिल्लाका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न भइसकेको हो।
निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ कार्य नियमित रूपमा अघि बढिरहेको जानकारी दिएको छ। यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ।
त्यसैगरी मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमुना मतपत्रसमेत छपाइ भइसकेको छ। आयोगअन्तर्गत निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको मतदाता शिक्षा एकाइले हालसम्म १५८ प्रकारका शैक्षिक सामग्री स्वीकृत गरी सार्वजनिक गरिसकेको छ। ती सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युब प्लेटफर्ममार्फत् प्रसारण भइरहेका छन्।
आयोगका अनुसार मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यी सामग्रीले निर्वाचन प्रक्रियाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वच्छ, निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा पनि यस्ता सामग्री प्रभावकारी हुने आयोगको भनाइ छ।
यता प्रतिनिधिसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले निर्वाचन आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख र प्रतिनिधिहरूलाई ब्रिफिङ गरेको छ।
उक्त कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा निर्वाचनको वातावरण, आयोगले गरेका तयारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षणलगायत विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।