मुस्ताङ ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा हिमालपारिको जिल्ला मुस्ताङ भने अस्वाभाविक रूपमा शान्त देखिएको छ। हिउँद छल्न प्रत्येक वर्ष कात्तिक–मङ्सिरमै बेसी झर्ने स्थानीय परम्पराका कारण यतिबेला जिल्लाका अधिकांश बस्तीहरू प्रायः रित्तिएका छन्।
जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा घोषित यो निर्वाचन मुस्ताङका लागि समयमै नपरेको स्थानीयको बुझाइ छ। लोघेकर दामोदरकुण्ड र लोमान्थाङजस्ता माथिल्लो मुस्ताङका पालिकाबाट करिब ८० प्रतिशत मतदाता जिल्लाबाहिर छन् भने तल्लो मुस्ताङका पनि आधाभन्दा बढी नागरिक पोखरा र काठमाडौँ झरिसकेका छन्।
मतदाता नै गाउँमा नभएपछि चुनावी चहलपहल पनि सहरतिर सरेको छ। राजनीतिक दलका उम्मेदवारहरू भोट माग्न मुस्ताङ होइन, पोखरा र काठमाडौँका गल्ली–गल्ली चाहारिरहेका छन्। मतदाता भेट्न कठिन भएको, फोन सम्पर्ककै भरमा उनीहरू बसोबास गरेको ठाउँ पहिल्याउनुपरेको उम्मेदवारहरूको गुनासो छ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन, नेकपा (एमाले) का इन्द्रधारा ढाडु विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीयचन्द्र थकालीसहित अन्य दलका उम्मेदवारहरू यतिबेला मुस्ताङ छोडेर काठमाडौँ र पोखरास्थित मुस्ताङी समाजघर केन्द्रित भएका छन्। फागुन महिनासम्म पनि मुस्ताङमा चिसो यथावत् रहने भएकाले मतदाताहरू वैशाखअघि गाउँ फर्कन इच्छुक नदेखिएको उनीहरूको भनाइ छ।
यसले निर्वाचनको दिन मतदातालाई मतदान केन्द्रसम्म पुर्याउनु राजनीतिक दलका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।
यद्यपि, जिल्लामा मतदाता र उम्मेदवारको उपस्थिति न्यून भए पनि निर्वाचन तयारी भने तीव्र पारिएको छ। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार ३९ वटा मतदान केन्द्रको अनुगमन सम्पन्न भइसकेको छ र सुरक्षा योजना समेत तयार गरिएको छ।
कुल ११ हजार ३२८ मतदाता रहेको मुस्ताङमा यसपटक आठवटा राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदैछ। तर, मतदातालाई मतदानका लागि जिल्लामै फर्काउने विषय नै अहिले मुस्ताङको निर्वाचनको सबैभन्दा ठूलो चुनौतीका रूपमा उभिएको छ।