भोजपुर ।
जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन्। सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै नष्ट हुने अवस्था सिर्जना भएपछि किसानको जीविकोपार्जनमै संकट उत्पन्न भएको छ।
स्थानीय किसानका अनुसार सुन्तलाका बोटमा ऐँजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै सुक्ने समस्या देखिन थालेको छ। यसले उत्पादनमा उल्लेख्य गिरावट आएको र कतिपय स्थानमा पूरै बगान नष्ट हुने जोखिम बढेको उनीहरूको भनाइ छ।
भोजपुर नगरपालिका–६ का किसान सोवित आछामेले समयमै प्राविधिक सहयोग र उपचार नपाउँदा समस्या झन् गम्भीर बन्दै गएको बताए। बगान नै सुक्न थालेपछि बाध्य भएर सुन्तलाका बोट काटेर फाल्नुपरेको उनको भनाइ छ।
उनले सम्बन्धित निकायले रोगको पहिचान गरी तत्काल समाधानका उपाय अपनाउनुपर्ने माग गरे। “बोट सुकेर बगान नै सखाप भएपछि किसान अत्यन्तै चिन्तामा परेका छन्,” उनले भने।
जिल्लामा उत्पादन हुने सुन्तलाले लामो समयदेखि किसानको आयआर्जनमा महत्वपूर्ण योगदान दिँदै आएको छ। तर पछिल्लो समय रोगको प्रकोप र व्यवस्थापनको अभावले सुन्तला खेती संकटमा पर्दै गएपछि किसानले दीर्घकालीन योजना र प्रभावकारी प्राविधिक सहयोगको माग गरेका छन्।