काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सिंहदरबारको पुनर्निर्माण प्रक्रिया यसै वर्ष २०८२ भित्रै सुरु गर्ने गरी सरकारले तयारी थालेको छ। गत भदौ २४ गते भएको आगजनी र तोडफोडबाट प्रभावित सिंहदरबारको मूल भवनसहित परिसरभित्रका संरचनाको मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइने सहरी विकास मन्त्रालयले जनाएको छ।
सिंहदरबारभित्रका भौतिक संरचनाको निर्माण, मर्मत र व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग रहेको छ। कार्यालयका अनुसार क्षतिको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन प्राप्त हुनासाथ पुनर्निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ।
हाल पुलचोक इन्जिनियरिङ कलेजले सिंहदरबारको मूल भवन र परिसरमा भएका क्षतिको प्राविधिक अध्ययन गरिरहेको छ। कलेजले यसै महिनाभित्र प्रतिवेदन बुझाउने बताएको छ। प्रतिवेदन आएपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पुनर्निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ।
आगजनीबाट सिंहदरबारको मूल भवनमा मात्रै करिब एक अर्ब रुपैयाँ बराबरको संरचनागत क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। तर, पुरातात्विक महत्वका सामग्री तथा ऐतिहासिक सम्पत्तिमा भएको क्षतिको यकिन मूल्यांकन भने अझै हुन सकेको छैन।
आगजनीका क्रममा विभिन्न मित्र राष्ट्रसँग भएका सन्धि–सम्झौताका महत्वपूर्ण प्रतिलिपिहरू पनि जलेको अनुमान गरिएको छ। भवन जोखिमपूर्ण अवस्थामा रहेकाले सम्पूर्ण क्षतिको विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको सहरी विकास मन्त्रालयका एक अधिकारीले बताए।
हाल क्षतिग्रस्त मूल भवनमा इन्जिनियरहरूले ‘रातो स्टिकर’ टाँसेर तत्काल प्रयोग गर्न नमिल्ने घोषणा गरिसकेका छन्। यद्यपि, भवनलाई पूर्ण रूपमा पुनर्निर्माण गर्ने कि संरचना प्रबलीकरण गर्ने भन्ने विषयमा भने अझै अन्तिम निर्णय भइसकेको छैन।