मलेसिया जाने कामदार बढेपछि अभिमुखीकरण तालिम दिने संस्था थपिँदै
मलेसिया जाने कामदार बढेपछि अभिमुखीकरण तालिम दिने संस्था थपिँदै
    • बेल संचार

    • २० माघ २०८२, मंगलवार

काठमाडौं ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको संख्या तीव्र रूपमा बढ्दै गएपछि सरकारले मलेसिया क्लष्टरमा अभिमुखीकरण तालिम दिने संस्थाहरूको संख्या विस्तार गर्ने भएको छ।

वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका तालिम प्रदायक संस्थाबाट मात्रै बढ्दो माग धान्न नसकिएको जनाउँदै नयाँ संस्थालाई पनि अनुमति दिन प्रक्रिया अघि बढाइएको जनाएको हो।

विभागका अनुसार हाल अन्य देशका लागि अभिमुखीकरण तालिम सञ्चालन गरिरहेका तर मलेसिया क्लष्टरमा स्थानान्तरण हुन चाहने इच्छुक संस्थाहरूलाई तीन दिनभित्र निवेदन पेश गर्न आह्वान गरिएको छ।

मलेसिया जाने कामदारको संख्या दिनानुदिन बढ्दै जाँदा विद्यमान तालिम केन्द्रहरूमा अत्यधिक चाप परेको विभागको भनाइ छ। ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ अनुसार तोकिएका मापदण्ड पूरा गरेका संस्थाहरू मात्रै यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।

निवेदनका क्रममा मलेसियाका लागि निर्धारण गरिएको पाठ्यक्रम, आवश्यक योग्यता भएका प्रशिक्षकको बायोडाटा, विगतमा सञ्चालन गरिएका तालिमसम्बन्धी विभागको अभिलेखमा कुनै कैफियत नरहेको स्वघोषणा तथा क्लष्टर परिवर्तन गर्न चाहनुको स्पष्ट कारण खुलाउनुपर्ने विभागले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित