काठमाडौं ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू निर्वाचन क्षेत्र केन्द्रित प्रचार–प्रसारमा सक्रिय देखिएका छन् भने दलहरू आ–आफ्ना घोषणापत्र अन्तिम रूप दिन पनि व्यस्त छन्।
निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकले यस निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनेछन्। आयोगले सार्वजनिक गरेको विवरणअनुसार फागुन २१ को निर्वाचनमा कुल १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाता मतदानका लागि योग्य छन्।
आयोगले ७७ वटै जिल्लाका १६५ निर्वाचन क्षेत्रको मतदाता संख्या सार्वजनिक गरेको छ। सो विवरणअनुसार रामेछाप जिल्लामा सबैभन्दा धेरै १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन् भने मनाङ जिल्लामा सबैभन्दा कम करिब ७ हजार मतदाता रहेका छन्।
रामेछाप र मनाङ दुवै जिल्ला एक–एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्ला हुन्। मतदाता संख्यामा ठूलो अन्तर देखिए पनि दुवै जिल्लाले प्रतिनिधिसभामा समान प्रतिनिधित्व गर्ने व्यवस्था रहेको छ।



