नाफा सुरक्षित गर्न लगानीकर्ता सक्रिय, सेयर बजार ओरालो
नाफा सुरक्षित गर्न लगानीकर्ता सक्रिय, सेयर बजार ओरालो
    • बेल संचार

    • २० माघ २०८२, मंगलवार

काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा अल्पकालीन नाफा बुक गर्ने लगानीकर्ता हावी हुँदा समग्र बजार सूचकमा स्थायित्व आउन सकेको छैन। निर्वाचनको अपेक्षामा बढेको बजार पुनः बिक्री चापमा परेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई आधार मानेर २७८८ अंकसम्म पुगेको नेप्से सूचक पछिल्ला दिनहरूमा नाफा सुरक्षित गर्ने प्रवृत्तिका कारण ओरालो लागेको छ। निर्वाचनको आशामा सेयर खरिद गरेका लगानीकर्ताले छोटो अवधिमै लाभ लिन खोज्दा बजार अस्थिर देखिएको विश्लेषकहरू बताउँछन्।

यो साताको सुरुवातमा बजार सूचक सकारात्मक देखिए पनि कारोबार अवधिभर तीव्र उतार–चढाव देखिएको छ। मंगलबार नेप्से सूचक दोहोरो अंकले घट्दा बजारको कमजोर मनोविज्ञान झल्किएको छ।

सो दिन नेप्से १२.५८ अंकले घट्दै २६८३.१५ अंकमा बन्द भएको छ। कारोबार सुरु हुँदा नेप्से २६९५.७३ अंकमा रहेको थियो। यससँगै सेन्सिटिभ इन्डेक्स पनि २.४५ अंकले घटेको छ।

मंगलबार कारोबार भएका कम्पनीमध्ये १ सय ९० कम्पनीको सेयर मूल्य घटेको छ भने ६६ कम्पनीको मूल्य बढेको छ। तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। सो दिन कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

समूहगत परिसूचकतर्फ अधिकांश समूह ओरालो लागेका छन्। बैंकिङ समूह ८.७३ अंकले घटेको छ भने विकास बैंक, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार समूह पनि घटेका छन्। यद्यपि होटल, उत्पादनमूलक तथा सामूहिक लगानी कोष समूह भने बढेका छन्।

बजार सूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। मंगलबार नेप्सेमा ३२२ कम्पनीका ९२ हजार ३ सय ३८ कारोबारमार्फत ८ अर्ब ६३ करोड रुपैयाँ बराबरका १ करोड ८७ लाख कित्ता सेयर किनबेच भएका छन्। अघिल्लो दिन सोमबार ८ अर्ब १० करोड रुपैयाँको कारोबार भएको थियो।

साताकाे चर्चित
सम्बन्धित