बालेनको पक्षमा सादा पोशाकका प्रहरीले मत मागेको उजुरीपछि आयोगद्वारा अनुसन्धान निर्देशन
बालेनको पक्षमा सादा पोशाकका प्रहरीले मत मागेको उजुरीपछि आयोगद्वारा अनुसन्धान निर्देशन
    • बेल संचार

    • २० माघ २०८२, मंगलवार

काठमाडौं ।

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र (बालेन) शाहको पक्षमा सादा पोशाकका प्रहरीले मत मागेको आरोपसहित उजुरी परेपछि निर्वाचन आयोगले घटनाबारे छानबिन गर्न निर्देशन दिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका बालेनकी श्रीमती सविना काफ्लेले केही दिनअघि झापा–५ मा घरदैलो कार्यक्रम सञ्चालन गरेकी थिइन्। सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीले मतदातासँग बालेनको पक्षमा मत मागेको थियो।

उक्त टोलीसँग सादा पोशाकमा रहेका प्रहरी पनि सहभागी भई मत मागेको दाबी गर्दै आयोगमा उजुरी दर्ता गरिएको हो। उजुरीकर्ताले सविना काफ्ले र अन्य टोली सदस्यले मत मागिरहेको श्रव्य–दृश्य सामग्रीसमेत निर्वाचन आयोगमा बुझाएका छन्।

निर्वाचन आयोगका अनुसार ‘सादा पोशाकका प्रहरी बालेनका लागि मत मागिरहेको देखिने’ श्रव्य–दृश्य सामग्री प्राप्त भएपछि आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको हो।

आयोगले झापा जिल्लास्थित अनुगमन अधिकृतलाई पत्र लेख्दै निर्वाचन प्रचारप्रसारका क्रममा बालेनको श्रीमतीसँग सादा पोशाकका प्रहरी खटिएको हो वा होइन भन्ने विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

आयोगको पत्रमा भनिएको छ, ‘झापा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाहको निर्वाचन प्रचारका क्रममा निजको श्रीमतीसँग सादा पोशाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्णयानुसार अनुरोध छ।

साताकाे चर्चित
सम्बन्धित