कांग्रेसकाे क्रियाशीलको किचलोले २१ जिल्लामा वडा अधिवेशन अनिश्चित
कांग्रेसकाे क्रियाशीलको किचलोले २१ जिल्लामा वडा अधिवेशन अनिश्चित
    • Bell Sanchar

    • २१ भाद्र २०७८, सोमबार

क्रियाशील सदस्यताको विषय टुंगो नलाग्दा कांग्रेसको २१ जिल्लामा वडा अधिवेशन अझै अनिश्चित बनेको छ । केन्द्रीय कार्यालयले विवाद समाधान गरी केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाउन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । निर्वाचन समितिले केन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको विवरण उपलब्ध नगराउँदा अधिवेशनको मिति तय हुन नसकेको बताएको छ ।

निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरी सदस्यता विवरणको पर्खाइमा रहेको जानकारी दिएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादव ७७ वटै जिल्लामा निर्वाचन अधिकृत र सामग्री पठाइसकिएको बताउँछन् । उनी समितिले विवरण पाएको तीन दिनमा निर्वाचन सम्भव हुने बताउँछन् । ‘हामीले सबै तयारी पूरा गरेका छौँ । विवरण आएको तीन दिनभित्र निर्वाचन सम्पन्न गर्न सकिन्छ,’ उनले भने, ‘विवरण आउने क्रममा होला । निर्धारित समयमा नै अधिवेशन सम्पन्न हुन्छ ।’

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार विवरण सोमबारसम्म टुंग्याउने तयारीअनुसार काम भइरहेको जनाईएकाे छ ।

सदस्यता सार्वजनिक हुन बाँकी जिल्ला
क्रियाशील विवाद टुंगिन बाँकी स्थानहरूमा प्रदेश नम्बर १ को मोरङ, प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी बाग्मती प्रदेशतर्फ काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र काठमाडौं, लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु कर्णाली प्रदेशको डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको बाजुरा, डँडेल्धुरा र कैलाली जिल्ला रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित