राजासँग मिलेर अघि बढ्ने बेला आयोः बिजुक्छे
राजासँग मिलेर अघि बढ्ने बेला आयोः बिजुक्छे
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

काठमाडौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको बिग्रँदो अवस्थालाई सुधार गर्न राजासँग मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

केही दिनअघि योहो टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले पनि देशको बद्लिँदो अवस्थालाई सुधार गर्न राजतन्त्रसँग मिलेर अघि बढ्न सकिने बताएका थिए । वैद्यको प्रस्तावसँग मिल्ने गरी बिजुक्छेले पनि देशको हितका लागि राजासँग मिलेर अघि बढ्ने बेला आएको स्वीकार गरेका हुन् । सोमबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै देशभक्त शक्ति एक ठाउँमा उभिनु पर्ने बेला आएको र त्यसका लागि राजतन्त्रसँग पनि सहकार्य गर्न सकिने बताएका हुन् ।

कम्बोडियामा साम्राज्यवादीहरुसँग मिलेर लड्दा नरोद्दम सिंहानुकलाई पुनः राजामा पुनःस्थापना गरे जस्तै नेपालमा त्यस्तै कोर्षमा जान सकिने उनको प्रस्ताव छ । बिजुक्छेले संसारमा कहीँ पनि कम्युनिष्ट र राजातन्त्रबीच संघर्ष नभएको दाबी गरे ।

नेपालमा राजतन्त्र पुनःस्थापना गर्न सकिन्छ भन्ने प्रश्नमा बिजुक्छेले जवाफ दिएका छन्, ‘संसारमा कहीँ पनि कम्युनिष्ट र राजाबीच भिडन्त भएको छैन । रुस, चीनमा राजा र कम्युनष्टिबीच भिडन्त भएको होइन । त्यहाँ पुँजीपति वर्ग र कम्युष्टिबीच मात्रै संघर्ष भएको हो। नेपालको सन्दर्भमा पनि भारतीय बिस्तारवाद र अमेरिकी साम्राराज्यवादविरुद्ध उभिन तयार भयो भने राजतन्त्रबारे छलफल गर्ने ढोका खुल्छ ।’

महासचिव वैद्यले पनि राष्ट्रिय स्वाधिनता जोगाउन र एमसिसीका विरुद्ध राजासँग एकैठाउँमा उभिन सकिने उल्लेख गरे । सहकार्यका लागि कम्युनिष्ट र राजा दुवै पुरानो सोचाइबाट बाहिर आउनुपर्ने उनको भनाइ छ ।

‘यदि राष्ट्रिय स्वाधिनततालाई मान्ने हो । अहिलेको अवस्थामा एकैठाउँमा आउने स्थित पैदा भएको छ । यो राम्रो कुरा हो । हामीले पूर्वाग्रह लिदैनौँ। पुरानै कुरा मात्र भनेर पनि हुँदैन। कम्युनिष्टहरुले पनि पुराना कुरा भनेर हुँदैन, नयाँ ढंगले जानुपर्छ । राजा छैनन् । शक्ति होला, तर त्यसलाई नयाँ ढंगले सोच्चुपर्छ’, वैद्यले भने ।

साताकाे चर्चित
सम्बन्धित