भूपेन्द्रको हत्या अझै रहस्यमै
भूपेन्द्रको हत्या अझै रहस्यमै

कसैको योजनामा हत्या गरिएको हो कि? यी कुनै कुरा पनि अझै खुल्न सकेका छैनन्,’ प्रहरी उपरीक्षक अधिकारीले भने।

    • Bell Sanchar

    • ३० कार्तिक २०७८, मंगलवार

लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भूपेन्द्र बडुवालको गत मंगलबार राति फिल्मीशैलीमा हत्या गरियो। तर एक साता बित्दा पनि प्रहरीले सो हत्याको रहस्य फेला पार्न सकेको छैन। घरबाट बोलाएर घेरा हाली लखेटीलेखेटी विभत्स तरिकाले भूपेन्द्र हत्याको घटनामा उब्जेका प्रश्न अझै अनुत्तरित छन्।

घटनालाई प्रहरीले गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन्। घटनाको कारण अझै खुल्न नसकेको उनी बताउँछन्। ‘किन र कसले हत्या गर्‍यो?, घटनाका पछाडि व्यक्तिगत कुरा वा सामूहिक के कुरा थियो? कसैको योजनामा हत्या गरिएको हो कि? यी कुनै कुरा पनि अझै खुल्न सकेका छैनन्,’ प्रहरी उपरीक्षक अधिकारीले भने।

संगठित गिरोहको लडाइँ हो वा व्यक्तिगत भनेर पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए। इलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको यो घटनाको अनुसन्धान गर्न सिआइवीको प्राविधिक टोली पनि सोमबार आइपुगेको छ। सुक्ष्म अनुसन्धान रूपमा प्राविधिक पक्षको अनुसन्धानको लागि प्रहरी निरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीको प्राविधिक टोली आइपुगेको उनले बताए। अपराधमा संलग्न संगठित गिरोहले योजनाबद्ध रूपमा घटना घटाएको शंका गरेर प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको एक प्रहरी अधिकारीले बताए।

टीकापुर, लम्की क्षेत्रका गुण्डा युवाहरू संगठित रूपमा अपराधमा क्रियाशील रहेको रहस्य खुलेको छ। यी गुण्डा समूहको सम्बन्ध काठमाडाैंका गुण्डासँग जोडिएको बुझिएको छ।

घटना यस्तो थियो

भूपेन्द्र मंगलबार राति खाना खाएर घरमै थिए। उनको साथी टीकापुरका कपिल श्रेष्ठले अप्ठ्यारोमा परेको भनेर सहयोगको लागि लगातार फोन गरेर उनलाई बोलाए। २७ पटक उनले फोन गरेको कल रेकर्ड रहेको छ। साथीले चलाएको मोटरसाइकल पछाडि बसेर करिब १४ किलोमिटर दूरीमा रहेको टीकापुरस्थित कपिलले वोलाएको केरावारी भन्ने ठाउँमा उनी पुगे। त्यहाँ ८, १० मोटरसाइकल देखेपछि सम्भावित खतरा आंकलन गरी भागेर सिद्धार्थ होटेलनजिक आफन्तको घरतर्फ जाँदै थिए। योजनाबद्ध रूपमा पहिले घेरा हालेको युवा समूहले गेटभित्र पुग्न नापाउँदै लखेटीलखेटी क्रुर ढंगले छोराको हत्या गरेको उनका बुवा डम्वर बडुवालले बताए।

२०/२५ जनाको समूहमा रहेका युवाले लख्टदै विभत्स ढंगले हत्या गरेको उनले बताए। गुण्डा समूहका मुख्य नवीन रावल र लोकजन शाहीले दसैंअघि एक रिसोर्टमा बोलाएर हतियार देखाई आफ्नो समूहमा लाग्न भूपेन्द्रलाई धम्कीसमेत दिएको उनको भनाइ छ। यो समूहले केही दिनअघि कमल शाहीलाई पनि हत्या गर्ने योजनाले खुकुरी प्रहार गरेको थियो। पूरै हात काटिए पनि उनको ज्यान जोगिएको थियो। ‘यिनीहरूले धेरै अपराधका घटना घटाइसकेका छन्, तर पनि प्रहरीले कारबाही नगर्दा मनोबल बढेको छ,’ उनले भने।

लम्कीका नवीन रावल र टीकापुरका जयन्द्र शाहीका दुई समूह संगठित रूपमा क्रियाशील रहेको जानकार बताउँछन्। यी दुई समूहका युवाहरूले खुलमखुला हतियार बोक्ने गरेका छन्। दुवै समूहमा गरेर करिब ५०/६० युवाहरू संगठित भएर आपराधिक गतिविधिमा सक्रिय रहेको स्रोतले बताएको छ। यिनले धम्काएर चन्दा, फिरौती र ठेक्कापट्टामा कमिसन माग्ने गरेको उनी बताँउछन्। संगठित रूपमा आपराधिक समूह सक्रिय भएपछि टीकापुर, लम्की क्षेत्रका वासिन्दा त्रसित बनेका छन्।

मुख्य योजनाकारलगायतका एक दर्जन अझै फरार

भूपेन्द्रको हत्या गर्ने समुहका मुख्य योजनाकारलगायत एक दर्जन युवा अझै फरार छन्। ‘छोराको हत्यामा २५ जना जतिको संलग्नता रहेको छ, १६ जनाको नाममा किटानी उजुरी दिइसकिएको छ, थप छजनाको नाम थाहा भएको छ, २५ दिनभित्र अरूको नाममा पनि किटानी दिने तयारी गरेको छ,’ बडुवालले भने। घटनामा संलग्नको आरोपमा खुकुरी प्रहार गर्ने भनिएका आर्यन देवकोटासहित प्रहरीले नौजना पक्राउ गरेको छ। अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ।

साताकाे चर्चित
सम्बन्धित