माओवादीको आठौँ महाविधेशन आजबाट, पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने
माओवादीको आठौँ महाविधेशन आजबाट, पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण प्रज्ञा भवनमा पुस १५ सम्म महाधिवेशन चल्ने पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने आफैबाट आत्मसमीक्षा शुरू गर्छु : प्रचण्ड

    • Bell Sanchar

    • ११ पुष २०७८, आईतवार

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण
प्रज्ञा भवनमा पुस १५ सम्म महाधिवेशन चल्ने
पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने
आफैबाट आत्मसमीक्षा शुरू गर्छु : प्रचण्ड

काठमाडौं(जस)–नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा भवनमा पुस ११ देखी १५ सम्म महाधिवेशन आयोजना हुनेछ । चल्ने देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । यद्यपि सो निर्णयलाई आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ ।
स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिए । माओवादीको विधानमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन दुवै आयोजना गर्न सकिने व्यवस्था छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएसँगै त्यसलाई आठौँ महाविधेशनको नाम दिइने छ ।
माओवादीले वडा तहदेखि नै सम्मेलन सम्पन्न गरेकाले पनि महाधिवेशनमा परिणत गर्न कुनै कठिनाइ नभएको तर्क गरेको छ । राष्ट्रिय सम्मेलन सम्पन्न गरेको निश्चित समयपछि महाधिवेशन आयोजना गर्नुपर्ने भएकाले यसलाई नै परिणत गर्दा केही फरक नपर्ने सुझाव आएपछि यस्तो निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिए । महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन । हाल कायम रहेका स्थायी समिति सदस्यलाई पदाधिकारीमा रुपान्तरण गर्ने गरी १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय शुक्रबारको स्थायी समिति बैठकले गरिसकेको छ । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय रहेको छ ।
आइतबारदेखि सुरु हुने महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । त्यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ । मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ । माओवादीले प्रौढ, वयस्क र युवाको तीन तहको समिश्रणलाई पार्टीको केन्द्रीय समिति निर्माण हुने जनाएको छ । पाकाको अनुभव, युवाको जोशलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ । माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ । कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ ।
माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ । खासगरी नीतिमा नै बहस गर्ने जनाएको माओवादीले नेतृत्व चयनका लागि निर्वाचन आयोगलाई जिम्मा दिएको छ । माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग बनाएको छ ।
आफैबाट आत्मसमीक्षा शुरू गर्छु : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनमा कहाँबाट त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरू गर्ने बताएका छन् । माओवादी आन्दोलन सशस्त्र संघर्षदेखि अहिलेसम्म आउँदा कहाँ त्रुटी भयो भन्ने समीक्षा गर्नुपर्ने उनले बताएका छन् । यसका लागि ११ मंसिरमा काठमाडौंमा शुरू हुने अधिवेशनमा आफूले आत्मसमीक्षा गर्ने उनले बताए । ‘नेतृत्व पंक्तिभित्र पनि केही न केही कमी कमजोरी हो भन्ने कार्यकर्ता पंक्ति र जनतालाई पनि लाग्न थाल्यो’, प्रचण्डले भने । जनताको आशा र भरोसा पूरा गर्न नसकेको महसुस भएको उनको भनाइ थियो । ‘कहाँ त्रुटी भयो र यस्तो स्थिति आयो त ?’, प्रचण्डले भने, ‘नैतिक रुपमा त म जिम्मेवार हुन्छु नै, थिए नै । सबैले आत्मसमीक्षा गरौं ।’
उनले यसको शुरूवात राष्ट्रिय सम्मेलनबाट गर्ने बताएका छन् । ‘मबाट नै आत्मसमीक्षा शुरू गर्छु, राष्ट्रिय सम्मेलनमा’, प्रचण्डले भने, ‘भोलि महाधिवेशनमा आत्मसमीक्षा गर्छु, हाम्रा त्रुटी केलाउँछु ।’ शनिबार काठमाडौंमा आयोजित दुई वटा छुट्टाछुट्टै कार्यक्रममा बोल्दै दाहालले अब सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । त्यसका लागि १० वर्षे सशस्त्र संघर्षमा होमिएका नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो । यससँगै व्यवस्थित प्रचारको मोर्चालाई पनि अगाडि बढाउनुपर्ने उनले बताए । ‘हिजो फौजी मोर्चा मुख्य थियो । एउटा ठूलो फौजी कारबाही गरेपछि प्रचार, संगठन, सबै काम एउटै फौजी मोर्चाले गथ्र्यो’, प्रचण्डले भने, ‘अहिले त हाम्रो फौजी मोर्चा पनि छैन । शान्तिपूर्ण प्रतिस्पर्धा र संघर्षमा छौं । यतिवेलाको मुख्य मोर्चा भनेकै प्रचारकै मोर्चा हो । जति व्यवस्थित ढंगले जनतामा प्रचार गर्न सकियो, त्यति पार्टी बलियो हुने हो ।’
सुरक्षाको व्यवस्था
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा भवनमा पुस ११ देखी १५ सम्म चल्ने महाधिवेशनको सुरक्षाका लागी महानगरीय प्रहरी परिसर काठमाडौँले एसपी दिनेशराज मैनालीलाई सम्मेलन स्थलमा खटाउने भएको छ । मैनाली बाहेक सम्मेलन स्थलमा ३ जना डिएसपी खटिन्छन् । सम्मेलन सुरक्षाको रिजर्भ टिममा थप ३ जना डिएसपी सहितको फौज स्ट्याडबाई राखिएको छ ।प्रहरी परिसर काठमाडौँले सम्मेलन स्थलमा ३५० भन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । सम्मेलन स्थलको सुरक्षा व्यवस्थाको निगरानीका लागी महानगरीय प्रहरी कार्यालयमा कमाण्ड पोष्ट बनाइएको छ । सम्मेलनमा एसपीको कमाण्डमा फौज परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।
वर्षमान पुन उपस्थित नहुने
नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् । जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सता यता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो । स्वास्थ्यमा सुधार आए पनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् । उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाऊदै पुनलाई स्वास्थ्यलाभ गर्न आग्रह गरेका हुन् । पुनसँगै उनकी धर्मपत्नी ओनसरी घर्तीमगर पनि महाधिवेशनमा अनुपस्थित रहने छन् । वर्षमानलाई महासचिवको दावेदारको रुपमा हेरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित