चिनियाँ विदेश मन्त्री भारत पनि जाने
चिनियाँ विदेश मन्त्री भारत पनि जाने

एनडिटिभीका अनुसार उनी नेपालबाट भारत भ्रमणमा जान लागेका हुन्। यी भ्रमणको मिति भने टुंगो लागिसकेको छैन।  

    • Bell Sanchar

    • २ चैत्र २०७८, बुधबार

चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल र भारतको भ्रमण गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयले यीको मार्च अन्तिम सातातिर हुने यीको नेपाल भ्रमणको अहिले तयारी गरिरहेको छ। भारतीय सञ्चारमाध्यमहरूले  विदेश मन्त्रीले भारत पनि भ्रमण गर्ने बताएका छन्।

एनडिटिभीका अनुसार उनी नेपालबाट भारत भ्रमणमा जान लागेका हुन्। यी भ्रमणको मिति भने टुंगो लागिसकेको छैन।

सन् २०२० मे ५ मा लद्दाखमा भएको भारतीय र चिनियाँ सेनाबीचको भिडन्तपछि भारतमा पहिलो पटक चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो।

यसअघि परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए। तर उनले कसको भ्रमण हुन लागेको खुलाएका थिएनन्।

पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो।

एमसिसीमा अमेरिकाले धम्कीपूर्ण कूटनीति सुरू गरेको र यो सहयोग हो कि पान्डोराज बक्स भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरूको टिप्पणीले काठमाडौंको कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।

एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयले अहिले वाङको भ्रमणमा क्रममा हस्ताक्षर हुने एजेन्डाहरूमा तयारी गरिरहेको छ।

वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए। गत वर्ष मंसिरमा चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आएका थिए।

साताकाे चर्चित
सम्बन्धित