संसदीय दल बैठकमा ओलीले भने- स्थानीय तह निर्वाचनको तयारीमा जुट्नू
संसदीय दल बैठकमा ओलीले भने- स्थानीय तह निर्वाचनको तयारीमा जुट्नू

बैठकमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा योग्य उम्मेदवार उठाउन पनि सांसदहरुलाई सचेत गराएका थिए।

    • Bell Sanchar

    • २ चैत्र २०७८, बुधबार

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता ओलीले यस्तो निर्देशन दिएका हुन्।

उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६५ देखि ७० प्रतिशत जित हासिल गर्ने दाबी समेत गरे।

संसदीय दलका नेता ओलीले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा योग्य उम्मेदवार उठाउन पनि सांसदहरुलाई सचेत गराएका थिए।

प्रमुख सचेतक भट्टराईले भने, ‘आज हाम्रो पार्टीका अध्यक्ष, संसदीय दलका नेताले हामी प्रस्तावित वैशाख ३० गते हुने चुनावका लागि ६५ देखि ७० प्रतिशत सिटमा नेकपा एमालेले विजय प्रााप्त गर्दछ। उहाँहरू गठबन्धनको तयारीमा हुनुहुन्छ। गठबन्धनका लागि उहाँहरूलाई शुभकामना पनि दिन चाहन्छौं तर नेकपा एमाले स्थानीय तहमा यदाकदा कुनै राजनीतिक दलसँग हुने गठबन्धन एकताबाहेक नेकपा एमाले देशभर एक्लै लड्छ।’

६ हजार ७४३ वटा वडा, ७५३ वटा पालिकाहरूमा नेकपा एमाले एक्लै चुनाव लडेर ६५ देखि ७० प्रतिशत सिटमा विजय प्राप्त गर्ने, पूर्वानुमान अध्यक्षले आजको बैठकमा राखेको उनले बताए।

‘त्यसका लागि सांसदहरूले आफ्नो सारा हैसियत खाजेर, आसन ग्रहण खोजेर नेताजस्तो भएर नभई कार्यकर्ताजस्तो भएर जनतासँग नङ-मासुजस्तो सम्बन्ध कायम गरेर योग्यतम उम्मेदवारहरूलाई खडा गरेर, सकेसम्म सर्वसम्मतिका साथ उम्मेदवारी छानेर, हामीले यो चुनावमा विजय प्राप्त गर्नुपर्छ र त्यो अभियानमा सरिक हुन निर्देशन गर्नुभयो,’ उनले भने।

प्रमुख सचेतक सचेतक भट्टराईले सत्तारूढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरूद्धको महाअभियोग प्रस्ताव पास नगराउन र अदालतलाई गिजोल्ने मनसायका साथ ल्याएको दाबी समेत गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित