युक्रेनमाथि रूसी आक्रमणबारे बाइडेन र सीबीच आज कुरा हुँदै
युक्रेनमाथि रूसी आक्रमणबारे बाइडेन र सीबीच आज कुरा हुँदै

समाचार संस्था रोयटर्सका अनुसार बाइडेन र सीबीच युक्रेनमाथि रूसले गरेको आक्रमणबारे कुराकानी हुन लागेको हो।

    • Bell Sanchar

    • ४ चैत्र २०७८, शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच आज (शुक्रबार) साँझ टेलिफोनमा कुराकानी हुने भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार बाइडेन र सीबीच युक्रेनमाथि रूसले गरेको आक्रमणबारे कुराकानी हुन लागेको हो।

फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए।

अमेरिकालगायत पश्चिमा मुलुकहरूले रूसी आक्रमणको विरोध गर्दै रूसमाथि अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्धहरू लगाएका छन् भने युक्रेनलाई हतियारसहित विभिन्न कुरा सहयोग गरिरहेका छन्।

चीनले भने युक्रेन र रूसको इतिहास निकै जेलिएको भन्दै यसबारेमा प्रतिक्रिया दिएको छैन। राष्ट्रसंघमा भएका केही मतदानमा ऊ रूस र युक्रेनको पक्षमा नलागी तटस्थ बसेको छ। पछिल्लो समय चीनले रूसलाई सैनिकलगायत अरू सहयोग गर्न लागेको चर्चा छ।

अमेरिकी अधिकारीहरूले युक्रेन आक्रमणमा चीनले रूसलाई त्यस्तो सहयोग गरे त्यसको डरलाग्दो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

युक्रेनमाथि रूसी आक्रमणबारे चिनियाँमा राष्ट्रपति सीको धारणा बुझ्न र उनलाई आफ्ना कुरा भन्न टेलिफोन कुराकानी हुन लागेको ह्वाइटहाउसले जनाएको छ। समाचार संस्था सिन्ह्वाले बाइडेन र सीबीच शुक्रबार साँझ कुराकानी हुने उल्लेख गरेको छ।

गत सोमबार इटालीको रोममा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र उच्च चिनियाँ कूटनीतिज्ञ याङ जिएछी बीचको भेटपछि बाइडेन र सीबीच कुराकानी गर्ने सहमति भएको हो।

साताकाे चर्चित
सम्बन्धित