अब कांग्रेसले निर्वाचनमा देखाउँछ – सभापति न्यौपाने
अब कांग्रेसले निर्वाचनमा देखाउँछ – सभापति न्यौपाने
    • Bell Sanchar

    • ५ चैत्र २०७८, शनिबार

काठमाडौ । नेपाली कांग्रेस काठमाडौ महानगर ४ नम्बर वडा कार्य समितिको आयोजनामा नेता तथा कार्यकर्ताहरूका लागि आयोजना गरेको ‘संगठन सुदृढीकरण, कार्यालय व्यवस्थापन र स्थानीय निर्वाचन’ विषयक वृहत् पार्टी कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । वडा सभापति रामप्रसाद न्यौपानेको सभापतित्व र नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति श्यामबहादुर खड्का र नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वमन्त्री तथा कांग्रेसका पूर्व सांसद् नरहरी आचार्यलगायतको उपस्थिति रहेको थियो ।

वडा सचिव कमला सुवेदीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । महतले नेपाली कांग्रेस केन्द्रीय निर्देशन अनुसार नै ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियानलाई आत्मसात गरेर चुनावको बेलामात्र नभई चुनाव अगाडि पनि मतदाता र जनताको घरदैलोमा गएर जनताको समस्या बुझेर समाधानतर्फ अग्रसर हुन् आग्रह गरेका थिए । ‘हामी नेपाली कांग्रेस काम गर्छौं, कम्युनिस्टहरु गफ गर्छन् हो कि हो कि पार्छन् जनतालाई झुक्याउने काम मात्र गरिरहेका छन्’ महतले भने ‘विश्वभरि नै कम्युनिस्टहरु नजितेकाहरु नेपालमा गफले जितेका छन्, सोझासाझा जनतालाई झुक्याएकै भरमा चुनाव जितेका छन्, हामीले ती भ्रष्ट कम्युनिस्टहरुको हरेक तह र तप्काबाट भण्डाफोर गर्न जरुरी छ ।

वडा सभापति रामप्रसाद न्यौपानेले संगठनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको बताए । उनले आगामी निर्वाचनमा परिणाम आउने गरी काम गरेर देखाउनेसमेत दाबी गरे । उनले पटक पटक भएका छलफल र अन्तरक्रियाबाट आएका सुझावलाई समेटेर पार्टी अघि बढाउने बताए । सभापति न्यौपानेले कांग्रेसको विकल्प छैन भनेर जनताले भन्न थालिसकेको पनि बताए ।

कार्यक्रमका सहभागी भएका वक्ताहरुले कांग्रेसको लागि यो निर्वाचन अवसर भएकाले आन्तरिक द्धन्द्धलाई व्यवस्थापन गरेर जानुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व सांसद् रमा गुरागाई, महासमिति सदस्य श्री सापकोटा, क्षेत्रका वरिष्ठ सल्लाहकार श्रीविनोद भट्टराई, क्षेत्रका प्रशिक्षण समिति संयोजक दामोदर खड्कालगायतले निर्वाचनका सम्बन्धमा बोलेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसहित , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सल्लाहकार सदस्य, क्षेत्रीय प्रतिनिधि, वडा कार्य समितिका पदाधिकारी, क्रियाशील सदस्यलगायत कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको उल्लेखनीय मात्रामा उपस्थिति रहेको थियो । त्यस्तै दोस्रो चरणमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ को प्रशिक्षण कार्यक्रम पनि भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित