चिनियाँ विदेश मन्त्री वाङ यी दिल्लीबाट काठमाडौं आउने
चिनियाँ विदेश मन्त्री वाङ यी दिल्लीबाट काठमाडौं आउने

विदेशमन्त्री वाङ यीको भ्रमणले दुई देशको सम्बन्ध सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    • Bell Sanchar

    • ९ चैत्र २०७८, बुधबार

तीन दिने औपचारिक भ्रमणका लागि चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा यीले द्वीपक्षीय औपचारिक वार्तासँगै महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।

चिनियाँ विदेश मन्त्री नेपाल आउनुभन्दा अघि भारतमा हुनेछन्। हिन्दुस्तान टाइम्सले उनी बिहीबार नयाँदिल्ली आइपुग्ने शुक्रबार त्यहीँबाट काठमाडौं आउने समाचार प्रकाशन गरेको छ।

भारत र चीन दुबै देशले वाङ यीको भ्रमणबारे औपचारिक जानकारी दिएका छैनन्। नयाँदिल्लीमा हुँदा वाङले भारतीय समकक्षी एस जयशंकरसँग भेट्ने तय भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेट हुने/नहुने टुंगो भएको छैन। २०७७ असारमा गल्वानमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। उक्त झडपमा २० भारतीय र ४ चिनियाँ सैनिक मारिएका थिए। त्यसपछि यी दुबै देशबीच सीमामा तनाव जारी छ।

सीमामा तनाव जारी भएका बेला दुबै देशबाट राजनीतिक भ्रमणहरू भएका थिएनन्। गल्वान भीडन्तपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री दिल्ली आउन लागेका हुन्। यसअघि भारतीय प्रधानमन्त्री मोदीले चीनमा सोमबार भएको चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा दु:ख व्यक्त गरेका थिए।

विदेशमन्त्री वाङ यीको भ्रमणले दुई देशको सम्बन्ध सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विदेश मन्त्री वाङ अहिले पाकिस्तानमा छन्। सोमबार साँझ नै इस्लामावाद पुगेका वाङ मंगलबार अर्गनाइजेसन अफ इस्लामिक कोपरेशनका विदेश मन्त्रीको सम्मेलनमा विशेष अतिथिका रूपमा सहभागी भएका छन्। यो सम्मेलनमा चिनियाँ विदेश मन्त्री सहभागी भएको यो पहिलो पटक हो।

मंगलबार साँझ उनले पाकिस्तानी प्रधानमन्ती इमरान खानसँग भेटेका छन्। विदेश मन्त्री वाङ यीको स्पेशल चार्टर्ड जहाज शुक्रबार साँझ काठमाडौं आइपुग्ने छ। उक्त दिन उनले कुनै राजनीति भेटघाट गर्ने छैनन्।

अर्को दिन परराष्ट्र मन्त्री नारायण खड्काले विदेशी मन्त्री वाङसँग गर्ने द्वीपक्षीय वार्ताका क्रममा नेपालले चिनियाँ पक्षसँग नाकामा भएको आवातजावतको समस्या, चीनमा एमबिबिएस पढेर इन्टर्न गर्न नपाएका विद्यार्थीको समस्यालगायत विषय उठाउने छ।

बिआरआई परियोजनालगायत अन्य विषयमा पनि कुराकानी हुनेछ।

काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने छन्।

उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

साताकाे चर्चित
सम्बन्धित