पानी, बाटो, बिजुली आएपछि दंग छन् गाउँले, बजेट खर्च धेरै हुँदा खुसी अध्यक्ष
पानी, बाटो, बिजुली आएपछि दंग छन् गाउँले, बजेट खर्च धेरै हुँदा खुसी अध्यक्ष
    • गाउँ-सहरमा सिंहदरबारको नारा लाग्यो। यी स्थानीय तहले पाँच वर्षको आफ्नो पहिलो कार्यकाल पूरा गर्दैछ।

    • ९ चैत्र २०७८, बुधबार

हाम्रा स्थानीय सरकार

सम्पादकीय नोट: राजनीतिक अस्थिरताका कारण लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन थिए। संघीयतामा गएपछि गाउँ/नगरपालिकाको पुनर्संरचना भयो।

गाउँ-सहरमा सिंहदरबारको नारा लाग्यो। यी स्थानीय तहले पाँच वर्षको आफ्नो पहिलो कार्यकाल पूरा गर्दैछ।

यस अवधिमा अरूले भन्दा राम्रो काम गरेका प्रत्येक प्रदेशका दुईवटा गाउँ/नगरपालिकाबारे सेतोपाटीले स्टोरी गर्ने छ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७, साङ्कोटका धेरैजसो बासिन्दाहरू माथि गाउँबाट बेँसीतिर बसाइँ सरेका छन्। साङ्कोट पहाडको डाँडामा पर्छ। कोही बेंसीमा पर्ने  राङ्सीतिर त कोही शंखमूलतिर बस्न थालेको धेरै भयो।

अधिकांश गाउँलेको खेती राङ्सी बेँसीमा छ। शंखमूलतिर झरेकाहरू राजमार्ग छेउमा बस्ने मनसायले त्यता लागेको बताउँछन्। जो जता गए पनि गाउँको घर छोड्नुको कारण चाहिँ पानीको अभाव हो।

केही समय अघि साङ्कोटबाट बेँसीतिर झर्न भारी तयार गरेका डिलाराम खड्काले खानेपानी नभएरै गाउँका धेरै मानिस बेँसी झरेको बताए।

उनका अनुसार जाने–आउने र पालो कुर्ने गरेर एक गाग्री पानी ल्याउन झन्डै तीन घण्टा लाग्छ। साठी वर्ष उमेर पुग्नै लागेका डिलारामले भने, ‘हामी पनि पानीकै दुःखले शंखमूल झरेका हौँ।’ उनको परिवार बसाइँ सरेको सात वर्ष भयो तर गाउँको घरबार चटक्कै छोडिसकेका छैनन्। परिवारका केही सदस्य हिउँदका करिब महिना दिन बाख्रालाई लेकको घाँस खुवाउन साङ्कोट बस्छन्।

गाउँपालिकाले गौरवको आयोजनाका रूपमा साङ्कोटमा पन्नेताल खानेपानी आयोजनाको संरचना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। पानीकै अभावमा गाउँ छाडेका परिवारको ध्यान यो आयोजनाले तानेको छ।

साङ्कोटमा पन्नेताल खानेपानी आयोजना अन्तर्गत बनेको पानीट्याङ्की। तस्बिर : दिपकजंग शाही 

‘अब खानेपानीको योजना सम्पन्न भयो भने हामी केही जहान माथि (साङ्कोट) नै बस्छौँ,’ डिलाराम भन्छन्, ‘पानीको दुःखले हिँडेका हौँ, गाउँ माया मारेको होइन।’

साङ्कोटमा पानी हुँदै नभएको होइन। केही वर्षअघि खानेपानीको एउटा आयोजना पूरा भएको थियो तर धेरै टिकेन। बिग्रिएपछि मर्मत भएन। गाउँपालिकाले आंशिक रूपमा सञ्चालन गरेको छ तर सबैलाई पुग्दैन। सबैलाई पायक पनि पर्दैन।

अहिले गाउँपालिकाको केन्द्र पुग्न अर्को गाउँपालिकाको बाटो हिँड्नु पर्दैन। गाउँमा मोटर चल्न थालेको छ। सबै वडामा स्वास्थ्य चौकी छन्। तीन वटा वडामा प्रसुति केन्द्र पनि छन्। गाउँपालिकाका ९५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ। विद्यालयहरूमा भौतिक पूर्वाधार विस्तार भएको छ।

स्थानीयबासी कविता खड्काले स्थानीय सरकार बनेपछि गाउँमा परिवर्तन अनुभव गरेकी छन्। उनका अनुसार गाउँबाट शंखमूल जान हिँड्नु पथ्र्यो, अहिले गाडी चल्छ।

वडा अध्यक्ष मेघराज भण्डारीका अनुसार पन्नेताल खानेपानी आयोजना बढीमा अबको दुई महिनाभित्र सञ्चालन हुनेछ। यस आयोजनाबाट बढी लाभान्वित हुने गाउँ साङ्कोट नै हो। पानी वितरण हुन थालेपछि बसाइँ सराइ रोकिने र सरेकाहरू पनि फर्किने उनको विश्वास छ।

पन्नेताल खानेपानी आयोजनाबाट वडा नम्बर ७ का करिब सात सय घरधुरी लाभान्वित हुनेछन्।

राङ्सीका युवक धोजबहादुर बोहोराले २०७३ सालदेखि गाउँमा कुटानी–पिसानी मिल चलाएका रहेछन्। उनका अनुसार केही वर्ष विदेशमा कम गरेर कमाएको पैसाले स्थापना गरेको मिल लगातार दुई वर्ष घाटामा गयो।

धोजबहादुर मानिसले बोकेर ल्याउने डिजेलबाट चलाउँथे। आम्दानीले खर्च धान्नै मुश्किल हुन्थ्यो।

धोजबहादुरको अन्न पिस्ने मिल। तस्बिर : दिपकजंग शाही 

स्थानीय सरकारको पहल र लगानीमा २०७५ मा ट्रान्सफर्मर जडान गरेपछि बिजुली भरपर्दो भएको छ। त्यसयता भने धोजबहादुरको मिलबाट हुने कारोबार नाफामा चलेको छ। उनी भन्छन्, ‘डिजलबाट चलाउँदाजस्तो बारम्बार बिग्रेको छैन, खर्च घटेर नाफा हुन थालेको छ।’
धोजबहादुरले २०७४ मा चुनावताका अब घरआँगनमा सरकार आउँदैछ भन्ने सुनेका थिए तर सरकार कसरी आउँछ भन्ने थाहा पाएका थिएनन्। जनप्रतिनिधिहरू निर्वाचित भएपछि गाउँमा विकासको काम हुन थाल्यो। ‘चुनाव भएको एक वर्षमा त हाम्रो गाउँमा बिजुलीको ट्रान्सफर्मर आयो। बाटो बन्न थाल्यो। गाउँपालिकाबाटै काम हुन थाल्यो,’ धोजबहादुर भन्छन्, ‘बल्ल थाहा भयो गाउँमै सरकार आउँछ भनेको कुरा।’

शारदा नदी वारिपट्टिको राङ्सी गाउँमा पारिपट्टिको त्रिवेणी गाउँपालिकाको एउटा गाउँबाट काठको पोलमार्फत तार ल्याएर केही घरमा बिजुली बालिएको रहेछ। अहिले गाउँमै ट्रान्सफर्मर राखिएको छ।

अर्का स्थानीयबासी धनबहादुर बोहोराले सडकको कुरा गरे। उनका अनुसार गाउँपालिकाको केन्द्र वा जिल्ला सदरमुकाम पुग्न त्यहाँका मानिस त्रिवेणी गाउँपालिका भएर जानुपथ्र्यो। नजिकैको शारदा नदी पारी त्रिवेणी गाउँपालिका पर्छ।

हिउँदमा नदी तरेर लुहाम हुँदै सवारी साधनमा गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम जान पाइन्थ्यो। बर्खामा भने दुई घण्टा पैदले हिँडेर राप्ती लोकमार्ग पुगेपछि मात्रै सवारीसाधन पाइन्थ्यो।

अहिले गाउँबाटै गाडी चल्छ। गाडी गाउँपालिकाको केन्द्र हुँदै जिल्ला सदरमुकाम जान्छ।

गाउँपालिकाको केन्द्र हुँदै जिल्ला सदरमुकाम। तस्बिर : दिपकजंग शाही

गाउँमा बाटो बनेपछि धनबहादुरले एउटा ट्याक्टर किनेका छन्। उनको ट्याक्टरले गाउँमा निर्माण समग्री ओसार्छ। खेतबाट कृषकको धानपराल ओसार्न पनि मद्दत गर्छ।

राप्ती राजमार्गमा पर्ने शंखमूलबाट राङ्सी गाउँसम्म गाउँपालिकाले १९ किलोमिटर बाटो बनाएको रहेछ। स्थानीयबासीहरूका अनुसार बाटो बाह्रै महिना चल्छ।

धोजबहादुरका अनुसार स्वास्थ्य सेवामा पनि ठूलो परिवर्तन भएको छ। राङ्सीका मानिस प्राथमिक उपचार वा साधारण चेकजाँचका लागि त्रिवेणी गाउँपालिकाको लुहाम जान्थे। अहिले वडामै आधारभूत स्वास्थ्यचौकी बनेको छ। गाउँपालिकाले आफ्नै लगानीमा भवन बनाएर, स्रोतसाधन र जनशक्ति समेतको व्यवस्था गरेको छ।

‘मैले श्रीमतीलाई सुत्केरी गराउन दुई पटक त्रिवेणी लगेँ, आजकाल गाउँमै हुन्छ,’ अर्का स्थानीयबासी बुद्धिराम बोहोराले भने, ‘अब त बर्थिङ सेन्टर (प्रसुति केन्द्र) पनि बन्दै छ रे!’

छत्रेश्वरीगाउँपालिका-४ मा  बनेको आधारभूत स्वास्थ्यचौकी। तस्बिर : दिपकजंग शाही

वडा अध्यक्ष भण्डारीका अनुसार गाउँको आधारभूत स्वास्थ्यचौकीमा केही महिनाभित्रै बर्थिङ सेन्टर पनि सञ्चालन गर्ने तयारी छ। वडा नम्बर ४ को कोर्बाङ झिम्पेमा रहेको स्वास्थ्यचौकीमा गाउँपालिकाले प्रसुति केन्द्र सञ्चालन गरेको छ। गाउँपालिकाले आफ्नै स्रोतसाधनमा प्रसुति केन्द्र चलाएको हो।

थानीयबासी सुमित्रा बुढाका अनुसार प्रसुति केन्द्र सञ्चालन भएपछि घरमै बच्चा जन्माउने चलन हट्यो। ‘कसैकसैले मात्र अस्पताल लैजान्थे, धेरै त घरमै सुत्केरी हुन्थे,’ उनले भनिन्, ‘अहिले नजिकै सुत्केरी गराउने अस्पताल छँदैछ, व्यथा सुरु भएपछि आइहाल्छन्।’

सबै वडाहरूमा स्वास्थ्य चौकी छन्। चारवटा वडामा प्रसुति केन्द्र चलेका छन्। गाउँपालिकाकी उपाध्यक्ष सीता केसीका अनुसार बाँकी तीन वटा वडामा पनि प्रसुति केन्द्र स्थापनाको तयारी भइरहेको छ।

गाउँपालिकाका चार वटा वडामा नियमित रूपमा एम्बुलेन्स सञ्चालनमा छन्। गाउँपालिकाले नै केही एम्बुलेन्स किनेको छ।

भण्डारीका अनुसार अनुसार स्थानीय तहको निर्वाचन हुनुअघि वडामा ३० प्रतिशत बासिन्दाले मात्र बिजुली पाएका थिए। त्यो बिजुली पनि आफ्नै ट्रान्सफर्मर नहुँदा भरपर्दो थिएन। भण्डारी भन्छन्, ‘अहिले गाउँमा ९५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ।’

छत्रेश्वरी गाउँपालिका दाङ–सल्यान–रुकुम जोड्ने राप्ती लोकमार्गसँग जोडिएको छ। गाउँपालिकाको मध्य भागमा लोकमार्गको केही खण्ड पर्छ। गाउँपालिका कार्यालय पनि लोकमार्ग छेउमै छ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि अधिकांश बस्तीहरू सडकले जोडिएका छन्। गाउँपालिकाले सडक, विद्युत, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेको वडाध्यक्ष भण्डारीको भनाइ छ।

छत्रेश्वरी गाउँपालिका। तस्बिर : दिपकजंग शाही

पूर्वाधारमा काम गर्न गाउँपालिकाका आफ्नै केही साधन छन्। दुई वटा एक्साभेटर, दुई वटा डोजर र एउटा टिपर गाउँपालिकाले नै किनेको छ। आफ्नै साधन भएकाले पूर्वाधारका काम गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष सन्तोष केसीको भनाइ छ।

‘हामीसँग आफ्नै डोजर र एक्साभेटरहरू भएकाले आफूले चाहेको समयमा सडक र तटबन्धका काम गर्न पाएका छौँ, अरूलाई जिम्मा दिनु नपरेपछि काममा लापरबाही पनि हुने भएन,’ अध्यक्ष केसीले भने, ‘बेलाबेला अवरुद्ध हुने सडकहरू मर्मत गर्न सजिलो भएको छ।’

छत्रेश्वरीमा तीन वटा मुख्य सडक छन्। लाम्ती–दमारचौर, शंखमूल–पानीखोला र शंखमूल–जयचौर सडक। अध्यक्ष केसीका अनुसार यी तीन वटा सडकले गाउँपालिकाका सातै वटा वडाका बस्तीहरूलाई सडक सञ्जालमा जोडेका छन्।

शंखमूल–जयचौर सडक पहिले नै बनेको थियो। गाउँपालिकाले आफ्नै लगानीमा स्तरोन्नति ग¥यो। अध्यक्ष केसी भन्छन्, ‘गाउँपालिकाका मुख्य सडकहरू अहिले बाहै्र महिना चल्छ्न्।’ शंखमूल–पानीखोला सडक गाउँपालिकाले बनाएको हो।

शंखमूल–जयचौर सडकले रोल्पाको सीमानामा रहेका सल्लेरी लगायतका गाउँ जोडेको छ । सल्लेरीका नन्द केसीका अनुसार सल्लेरी गाउँ लसुन र आलु उत्पादनमा प्रख्यात छ। अहिले गाउँका यी उत्पादनको माग ह्वात्तै बढेको छ तर व्यावसायिक उत्पादन सुरु हुन सकेको छैन। सल्लेरी गाउँ दूध उत्पादनमा पनि प्रख्यात छ। सबै दूध गाउँपालिका केन्द्रनजिकै रहेको संकलन केन्द्रले लैजान्छ। बाटो बनेपछि दूध पठाउन पनि सहज भएको नन्दले बताए।

वडा नम्बर ४ छत्रेश्वरी गाउँपालिकाको सबैभन्दा विकट वडा हो। ‘विकट र छरिएका बस्तीका कारण विकासको काम सहज थिएन। जनताले हामीलाई कामै गर्न सकेनन् भन्छन् कि भन्ने लागेको थियो,’ वडा अध्यक्ष नेवबहादुर खड्का भन्छन्, ‘अब त्यो चिन्ता रहेन, सोचेको जति सबै नभए पनि तीमध्ये धेरैजसो काम गरेका छौँ।’

वडा नम्बर ४ का बस्तीहरूमा विद्युत पु¥याउन २०७४ मा भएको पहिलो गाउँसभाले ७० लाख रुपैयाँ विनियोन गरेको थियो। वडा अध्यक्ष खड्काका अनुसार अब बढीमा एक महिनाभित्र सबै बस्तीहरूमा विद्युत पुग्नेछ।

जयचौर जाने बाटोमा पर्ने श्रीचौरमा भेट भएका गाउँका अगुवा जयबहादुर घर्तीले स्थानीय सरकारको कामप्रति सन्तोष व्यक्त गरे। उनी बिजुली बाल्न पाएकोमा बढी खुसी रहेछन्। उनले भने, ‘हामीले राष्ट्रिय प्रसारण लाइन बालेका छौँ, यसरी नै हो विकास हुने भनेको। हामीले खोजेको रफ्तारमा काम नहुनु छुट्टै कुरा हो।’

छत्रेश्वरी–४ मै रहेको लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक लोकेश वलीले आफ्नो विद्यालयमा पूर्वाधार विस्तारमा गाउँपालिकाबाट सहयोग पाएको बताए। उनका अनुसार गाउँपालिकाले निकै जोखिमपूर्ण अवस्थाको एउटा पुरानो भवन भत्काएर प्रिफ्याबको नयाँ भवन बनाइदियो।

‘अहिले सबै विद्यार्थी जोखिममुक्त भवनमा बस्न पाएका छन्,’ वलीले भने, ‘गाउँपालिकाले माध्यमिक तहमा केही शिक्षकको व्यवस्था पनि गरिदिएको छ।’

विद्यालयमा विद्युतीय हाजिरी मेसिन र सिसी क्यामरा पनि गाउँपालिकाले नै जडान गरिदिएको छ। वलीले भने, ‘विद्यार्थी र शिक्षकमाथि निगरानी हुने भयो, विद्यार्थी सचेत हुने रहेछन्।’

शिक्षाको क्षेत्रमा स्थानीय सरकारको कामप्रति गाउँपालिका अध्यक्ष केसी आफू भने उति सन्तुष्ट छैनन्। ‘हाम्रो जस्तो भूगोल भएका सबै क्षेत्रमा समस्या उस्तै होला। केही राम्रा काम गरे पनि शिक्षामा सोचेजस्तो काम गर्न सकिएन।’

लक्ष्मी माध्यमिक विद्यालय। तस्बिर : दिपकजंग शाही

पाँच वर्षे कार्यकाल पूरा गर्दैगर्दा गाउँपालिकाका बासिन्दाबाट र बाहिरबाट पनि सकारात्मक प्रतिक्रिया पाएको उपाध्यक्ष केसीले बताइन्। उनी भन्छिन्, ‘मैले आफ्नो गाउँपालिका भनेर कुरा बढाउन खोजेको होइन, सल्यानका स्थानीय तहको हकमा अरूभन्दा छत्रेश्वरीले धेरै विकास गर्यो भनेर बाहिरबाट प्रतिक्रिया आउने गरेको छ।’

छत्रेश्वरी गाउँपालिकाको विषयमा हामीले छिमेकी शारदा नगरपालिकाका उपमेयर सावित्रा बस्नेतलाई पनि सोध्यौँ। उनले छत्रेश्वरीको पाँच वर्षे कार्यकाल उपलव्धिमूलक रहेको बताइन्।

‘छिमेकी भनेका प्रतिस्पर्धी नै हुन्छन् तर राम्रोलाई नराम्रो भन्ने कुरा भएन,’ उनले भनिन्, ‘छत्रेश्वरीलाई कामका हिसाबले अधिकांशले जिल्लाको विशेष स्थानीय तहका रूपमा लिएका छन्।’

गाउँपाकिलाका अध्यक्ष केसीका अनुसार छत्रेश्वरीको आन्तरिक आय २० देखि ३० लाख रुपैयाँमात्र छ। गाउँपालिकाको हालसम्मको अधिकतम बजेट ३५ करोड रुपैयाँ पुगेको उनले बताए।

विनियोजित बजेटमध्ये कम्तीमा ७० प्रतिशत खर्च हुने गरेको छ। ‘विगतका वर्षहरूदेखि बजेट खर्चमा त सन्तुष्ट छौँ,’ केसीले भने, ‘अझ यो वर्ष त लगभग पूरै खर्च हुने अवस्था देखिएको छ।’

छत्रेश्वरी गाउँपालिकाले धार्मिक पर्यटनमा पनि जोड दिएर लगानी गरेको छ। पर्यटकीय दृष्टिकोणले नेपालको प्रख्यात ‘छायाक्षेत्र’ छत्रेश्वरीमा पर्छ। छायाक्षेत्रभित्र विशेष गरी छत्रेश्वरी देवी मन्दिर, शंखमूल धार्मिक कुण्ड, वैकुण्ठ धाम र खैरावाङ मन्दिर पर्छन्।

‘हाम्रो गाउँपालिकामा पर्यटकीय स्थल भनेकै धार्मिक क्षेत्र हुन्। यहाँ भारतबाट पनि दर्शनार्थीहरू आउँछन्’ अध्यक्ष केसीले भने, ‘यी क्षेत्रलाई आकर्षक बनाउनु मुख्य दायित्वमध्येमा पर्छ।’

छत्रेश्वरी–६ मा रहेको शंखमूल धार्मिक कुण्ड गाउँपालिका र व्यवस्थापन समितिको लगानीमा पुनर्निर्माण गरिएको छ। गाउँपालिकाको एक करोड र व्यवस्थापन समितिबाट ६० लाख रुपैयाँको लगातमा नेपालकै ठूलो शंखलगायतका संरचना बनाइएको छ।

छत्रेश्वरी–६ स्थित शंखमूलमा गाउँपालिकाले ६० लाख खर्चेर बनाएको शंख। तस्बिर: दिपकजंग शाही

‘पहिले यहाँ पर्व विशेषमा श्रद्धालुहरू मात्र आउँथे, अहिले नयाँ तरिकाले व्यवस्थापन गरेपछि थोरै भए पनि पर्यटक आउने गरेका छन्,’ शंखपार्क आर्थिक क्षेत्र विकास समाजका अध्यक्ष तपेन्द्रमान श्रेष्ठले भने, ‘अब पूर्णरूपमा पार्क तयार भएपछि न्यूनतम शुल्क तोकेर आय बढाउँछौँ।’

शंखपार्क बनेपछि व्यवसाय पनि फस्टाउन थालेको छ। पार्क नजिकै पानीपुरी र चिया बेच्न घुम्ती पसल चलाएकी गङ्गा नयाँ व्यवस्थापनपछि आफ्नो व्यापार बढेको बताइन्।

छायाक्षेत्रभित्र वैकुण्ठधामलाई पनि श्रद्धालु र पर्यटकका लागि आकर्षक बनाइएको छ। समाधी स्थलका रूपमा सिमित रहेको धाममा अहिले केही नयाँ संरचनाहरू बनाइएका छन्। थप केही संरचना बनाउने तयारी भइरहेको वडा नम्बर ६ का वडाध्यक्ष चूडामणि दसौँदीले बताए।  सेतोपाटी

साताकाे चर्चित
सम्बन्धित