चुनावका लागि दलीय तयारी सुस्त   
  चुनावका लागि दलीय तयारी सुस्त   

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तालिका निर्वाचन आयोगले प्रकाशित गरेपनि दलभित्र भने त्यसको तयारी सुस्त देखिएको हो ।

    • Bell Sanchar

    • ९ चैत्र २०७८, बुधबार

महोत्तरी

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै आए पनि महोत्तरीमा राजनीतिक दलको तयारी सुस्त देखिएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तालिका निर्वाचन आयोगले प्रकाशित गरेपनि दलभित्र भने त्यसको तयारी सुस्त देखिएको हो । सार्वजनिक कार्यक्रममा भाषण, पत्रकारसँगको कुराकानी र यस्तै औपचारिक अवसरमा नेताले निर्वाचनमा आफ्नो दल जित्ने दाबी गरे पनि आन्तरिक रुपमा कुनै पनि पार्टीभित्र यसको तयारीको एजेण्डा प्रवेश गरेको छैन ।

निर्वाचनको माहोल बनाउने, बढाउने मुख्यपक्ष रहने दलभित्र चुनावी एजेण्डा प्रवेश नगर्दा आम जनताबीच चुनावबारे कौतुहलता छाएको छैन । “खै चुनाव हुन्छ रे भन्ने सुन्छाँै, तर कोही नेता भोटका कुरा लिएर घरमा आएका छैनन््”, महोत्तरीका जुनसुकै बस्तीमा पुग्दा आम सर्वसाधारणको समान प्रतिक्रिया सुनिन्छ । आयोगले क्रमशः निर्वाचन तालिकाअनुसारका गतिविधि बढाउँदै लगे पनि जनताबीच पुग्ने दल सुस्त देखिएपछि चुनावी रौनक छाउन नसकेको सामाजिक अभियानमा जोडिएका वुद्धिजीवी बताउँछन् । “चुनावको माहोल बनाउने मुख्यपक्ष नै दल हुन् । अहिलेसम्म चुनावी नारा वा तयारी लिएर दलहरु बस्तीमा पसेका छैनन् । त्यसैले चुनावको रौनक पनि देखिएको छैन्”, भङ्गाहा–३ का बासिन्दा पूर्वप्रशासक ८० वर्षीय तेजनारायण सिंह थारुको ठम्याइ छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका १५ स्थानीय तहमध्ये अधिकांशका मुख्य पद (नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष) तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले जितेको थियो । सातवटा प्रमुख÷अध्यक्ष र नौवटा उपप्रमुख÷उपाध्यक्ष जितेको सो दलपछि सङ्घीय समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा (जनता समाजवादी पार्टी) बन्यो । हालसम्म आइपुग्दा जसपामा भएको विभाजनले पूर्वराजपापक्ष अहिले लोकतान्त्रिक समाजवादी पार्टीका नाउँमा छ ।

लोसपाभित्रैबाट अहिले फेरि विभाजन भएर तराई मधेस लोकतान्त्रिक पार्टी बनेको छ । गत निर्वाचनमा तत्कालीन राजपा नेपाल र सङ्घीय समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका थिए । फलस्वरुप सङ्घीय समाजवादी पार्टीले पनि एउटा गाउँपालिकामा बहुमत सिटमा जित हासिल गरेको थियो । गठबन्धन दलले जिल्लाका आठ स्थानीय तहका प्रमुख÷अध्यक्ष र १० उपप्रमुख÷उपाध्यक्ष जितेको थियो ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका तत्कालीन राजपा नेपाल र सङ्घीय समाजवादी पार्टी हाल लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टीका नाउँले तीन दलको अस्तित्वमा देखिएका छन् । अहिले यी तीनै दल आसन्न स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइ रहेका छन् । यद्यपि दलका आन्तरिक समितिहरुमा निर्वाचन तयारीको एजेण्डाले भने कुनै दलमा औपचारिक रुपमा प्रवेश पाएका छैनन् ।

“निर्वाचनमा होमिने भन्ने त छँदैछ तर अहिलेसम्म हामीले दलभित्र यसबारे औपचारिक छलफल सुरु गरेका छैनौँ”, सङ्घीय सरकारको एकघटक र मधेस प्रदेश सरकारको नेतृत्वकर्ता जसपा नेपालका जिल्ला अध्यक्ष नागेन्द्रप्रसाद यादवले भन्नुभयो, “अब उम्मेदवार छनौट र निर्वाचन तयारीबारे निश्चित कार्यविधि बनाएर अघि बढिन्छ ।” जसपा नेपाल जस्तै लोसपा नेपाल र यसबाट भर्खरै विभाजित भई बनेको तराई मधेस लोकतान्त्रिक पार्टीभित्र पनि स्थानीय तह निर्वाचनको तयारीमा औपचारिक रुपले लागि नसकिएको ती दलका नेताले बताएका छन् । “चुनाव त नजिकिँदै छ, हामी पनि अब तत्सम्बन्धी तयारी अघि बढाउने क्रममा छौँ”, लोसपा नेपालका जिल्ला अध्यक्ष रामबाबु साहले भन्नुभयो ।

विसं २०७४ को निर्वाचनमा जिल्लाका चार स्थानीय तहमा प्रमुख÷उपप्रमुखसहित अधिकांश पदमा जितेको नेकपा माओवादी केन्द्रमा पनि चुनावी चहलपहल पसेको छैन । आसन्न निर्वाचनमा उम्मेदवार बन्न आकांक्षी देखिएका नेता त छन् । दलले निर्वाचनबारे संस्थागत छलफल सुरु नगरेको सो दलसम्बद्ध नेता कार्यकर्ता बताउँछन् । सङ्घीय र मधेस प्रदेश सरकारमा मुख्य घटक रहेको यो दलका केही जिम्मेवार नेताले भर्खरै केही साता पहिले दलत्याग गरेको घोषणा गरेपछि पार्टीभित्र चुनावभन्दा पनि दलत्यागको घोषणा गरेका नेताहरुसँग आन्तरिक सम्वादले प्राथमिकता पाएको बताइन्छ । मधेस प्रदेश समिति सदस्यसमेत रहनुभएका जिल्ला संयोजक तुलसीप्रसाद ढुङ्गाना, प्रदेश समिति सदस्य राजनप्रसाद ढुङ्गाना, रामबहादुर राना एवं स्थानीय पार्टी समितिका अगुवा दुई नेतासहित पाँच जनाले गत फागुनको अन्तिम साता संयुक्त विज्ञप्ति नै प्रसारित गरी दलत्यागको घोषणा गर्नुभएको थियो ।

विसं २०७४ को निर्वाचनमा तीन प्रमुख र एक उपप्रमुख पद नेपाली कांग्रेसले जितेको थियो । सङ्घीय सरकारको नेतृत्वकर्ता र प्रदेश सरकारको एक घटक रहेको कांग्रेसभित्र पनि चुनावी एजेण्डा छलफलमा आइसकेको छैन । यद्यपि कांग्रेसका नवनिर्वाचित जिल्ला सचिव दीपक मिश्रले पार्टीको आन्तरिक चुनावमा जुटिएको हुँदा स्थानीय तह निर्वाचनसम्बन्धी तयारी गर्न नभ्याइएको बताउनुभयो ।

“हाम्रो जिल्ला अधिवेशन रोकिएको थियो, भर्खरै जिल्ला अधिवेशन सम्पन्न भएर नेतृत्व छानिएको छ”, उहाँले भन्नुभयो, “अब हाम्रो सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनतिर मोडिएको छ ।” पार्टी केन्द्रले निर्वाचन विशेष नारा नै तय गरेर ‘कांग्रेस जिताउन घरघर अभियान’ सञ्चालन गरी सकेको हुँदा अब पार्टीको सम्पर्ण शक्ति चुनावी तयारीमा होमिने उहाँको भनाइ छ ।

नेकपा एमालेमा पनि चुनावी एजेण्डा छिरेको छैन । विसं २०७४ को स्थानीय तह निर्वाचनमा यो दलले जिल्लाका कुनै स्थानीय तहमा प्रमुख÷उपप्रमुख जित्न सकेन । जम्मा १३८ वडामध्ये आठवटा वडाध्यक्ष मात्र जितेको यो दलबाट पिपरा गाउँपालिकामा विसं २०७६ मा भएको गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा भने तत्कालीन नेकपाबाट निर्वाचित एक जना हाल देखिएका छन् । कैयौँ पटक जिल्ला अधिवेशनको मिति तोकिए पनि दलभित्रको आन्तरिक किचिलोले एमालेले जिल्ला अधिवेशन गर्न सकेको छैन । अहिले जिल्लामा एमालेको अन्तरिम कमिटी छ । दलका केन्द्रीय सदस्यसमेत रही हाल जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनुभएका टेकबहादुर बलम्पाकीले स्थानीय तहका पार्टी कमिटी निर्वाचनको तयारीमा लागिसकेको बताउनुभयो ।
“आजै हाम्रो चुनाव केन्द्रित भएर केन्द्रीय कमिटीको बैठक बस्दैछ, यसले पार्टीका आधारभूत तह (स्थानीय तहका वडा टोलसम्म) का पार्टी कमिटीका लागि निर्वाचनसम्बन्धी तयारीमा जान आवश्यक कार्यविधिसहित निर्देशन गर्नेछ”, उहाँले भन्नुभयो, “यो बैठक बिहीबार सम्पन्न भएलगत्तै हामी बस्तीबस्तीमा चुनावी लहर पु¥याउँछौँ ।”

खासमा सङ्घीय र प्रदेश सरकारमा सम्मिलित गठबन्धन दलभित्र नै आसन्न स्थानीय तहको निर्वाचनबारे सक्रियता नदेखिएको हुँदा चुनावी माहोल बन्न नसकेको कतिपय वुद्धिजीवीको ठम्याइ छ । सरकारमा सम्मिलित दलभित्र नै ‘चुनाव गर्ने र ?’, ‘तीनै तहको एकैपटक गरिनपर्छ’ र ‘पहिले संसद्को चुनावमा पो जाने होकी ?’ जस्ता प्रतिक्रिया नेतृत्व तहबाटै आइरहँदा आमजनतामा ‘खै चुनाव हुने कि नहुने ?’ भन्ने अन्यौलले पनि ‘माहोल’ बन्न नसकेको जिल्लाका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी ८५ वर्षीय विन्देश्वरीप्रसाद मण्डलले बताउनुभयो ।

“दलहरुकै इच्छा÷अनिच्छाले स्थानीय तह निर्वाचनबारे अन्यौल थियो, अब आयोगको तयारीले त्यो अन्यौल चिर्दै लगेको छ”, उहाँले भन्नुभयो, “अब माहोल तात्छ ।” लामो अन्तरालपछि विसं २०७४ मा स्थानीय तहको निर्वाचन हुँदा जनताको पङ्तिमा निकै अपेक्षा रहेको÷बढेको र तिनको समुचित सम्बोधन हुन नसकेको गुनासो बढेपछि पनि दलका नेतालाई सामना गर्न सकस परेको वरिष्ठ पत्रकार मण्डलको भनाइ छ । “तर अब जनताका गुनासा सुन्दै चुनावमा होमिनुको विकल्प दलसँग देखिन्न, त्यसैले नयाँ वर्ष (२०७९) लाग्दा नलाग्दै चुनावी माहोल बन्छ”, मण्डलकै समकक्षी अर्का प्रेस स्वतन्त्रता सेनानी जलेश्वर परिकौलीका बासिन्दा कुँवरकान्त झाले भन्नुभयो ।

जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा दलगत सक्रियताका लागि २० राजनीतिक दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । यसबीचमा निर्वाचनसम्बन्धी चासो र तीसम्बद्ध तयारीबारे दलका प्रतिनिधि र आम मतदाताले कार्यालयमै आएर सोध्ने, बुझ्ने क्रम निकै बढेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले बताउनुभयो । “आम चासो बढ्दैछ, हामी पनि तालिकाअनुसारको काम बढाउँदैछौँ, अब निर्वाचन माहोल तात्छ”, उहाँले भन्नुभयो ।
–गोपालप्रसाद बराल

साताकाे चर्चित
सम्बन्धित