चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी
चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

त्यसो हुँदा नामवलीको १० देखि १५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने उनले बताए। 

    • Bell Sanchar

    • १० चैत्र २०७८, बिहीबार

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दुई करोड मतपत्र छाप्ने भएको छ।

बिहीबार पत्रकार सम्मेलनमार्फत् निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले चुनावका लागि दुई करोड मतपत्र छाप्ने बताएका हुन्।

उनका अनुसार अहिलेसम्म मतदाता नामवलीको संख्या एक करोड ७७ लाखको हाराहारीमा छ। त्यसको अन्तिम नामवलीको प्रशासन चैत १३ गते हुने आयोगले जनाएको छ।

त्यसो हुँदा नामवलीको १० देखि १५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने उनले बताए।

‘अन्तिम मतदाता नामवलीमा कायम हुने संख्या एक करोड ७७ लाख होला। आयोगले अन्तिम नामवली चैत १३ गते प्रकाशित गर्छ। विभिन्न कारण तथा जोखिमलाई मध्यनजरमा राखेर अलि बढी अर्थात् दुई करोडको हाराहारीमा छाप्नुपर्छ,’ उनले भने।

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने आयोगले जनकशिक्षा सामग्री केन्द्रसँग कुराकानी अघि बढाएको उनले बताए।

‘आयोगले मतपत्र छपाइको लागि जनकशिक्षासँग कुरा अघि बढाएको छ,’ उनले भने, ‘त्यो छापा संस्थासँग भएन भने अरूसँग पनि कुरा अघि बढाउनुपर्ने हुनसक्छ।’

तर अहिले खर्च कति लाग्ने भन्ने निर्धारण भइनसकेको उनले बताए।

यस्तै, आयोगले गत सोमबार गरेको निर्णयअनुसार निर्वाचनका लागि आयोगमा दर्ता भएका दलहरूमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलहरूलाई जिल्लास्तरको संगठन संरचना पेस गर्न निर्देशन दिएको थियो। निर्देशनबमोजिम जिल्ला समितिको विवरण आयोग र निर्वाचन कार्यालय आइतबार पेस भएको थियो। त्यसमा प्राप्त विवरणको रूजु तथा भिडान गर्ने काम भइरहेको उनले बताए।

बुधबारदेखि देशभर निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूसँग अन्तर्क्रियात्मक कार्यक्रम सुरू भएको आयोगले जनाएको छ। केन्द्रमा एक र बाँकी अरूमा १४ गरी १५ ठाउँमा यो काम सुरू भइसकेको छ।

साताकाे चर्चित
सम्बन्धित