कांग्रेसको सर्कुलर- उम्मेदवारको नाम अहिल्यै बाहिर नल्याउनू
कांग्रेसको सर्कुलर- उम्मेदवारको नाम अहिल्यै बाहिर नल्याउनू
    • Bell Sanchar

    • २२ चैत्र २०७८, मंगलवार

नेपाली कांग्रेसले अहिल्यै उम्मेदवारको नाम सार्वजनिक नगर्न सर्कुलर गरेको छ।

०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि पार्टीबाट उठ्ने उम्मेदवारको नाम केही दिन ‘होल्ड’मा राख्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको हो।

कांग्रेस विधानअनुसार उम्मेदवार टुंग्याउने काम चार तहका समितिबाट हुन्छ। प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय संसदीय समितिले उम्मेदवारलाई टिकट बाँड्न सक्छन्।

महानगरको हकमा केन्द्रबाट टिकट दिने हो भने अन्यत्र भने पार्टीका तल्ला समितिले नै टिकट दिन्छ।

कांग्रेसले वडाध्यक्ष र खुला वडा सदस्यका लागि उम्मेदवारहरूको नाम सिफारिस गरिसकेको छ।

चैत २० मै बैठक गरेर चैत २१ मा वडाध्यक्ष र वडा सदस्यको नाम पार्टीको माथिल्लो तह पालिकास्तरका कार्यसमितिमा पठाइएको थियो।

कांग्रेसले वडादेखि महानगरसम्मका उम्मेदवार सिफारिस गर्ने वा सर्वसम्मत उम्मेदवार तय भएका छन् भने पनि अहिल्यै नाम बाहिर नल्याउन भनेको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार टुंगो लागेका छन् भने केही दिन पर्खन आग्रह गरिएको बताए।

‘कांग्रेसमा विभिन्न तहका उम्मेदवारलाई विभिन्न तहका संसदीय समितिले नै टिकट दिन सक्ने व्यवस्था छ,’ उनले भने, ‘उम्मेदवार सिफारिस गर्ने, नाम टुंगो लगाउने काम आन्तरिक रूपमा भइरहेका छन्। उम्मेदवार टुंगो लागेका छन् भने अहिल्यै सार्वजनिक नगर्नुस्, होल्ड गर्नुस् भनिएको हो।’

मुख्यसचिव पौडेलका अनुसार केन्द्रीय कार्यालयले उम्मेदवार सार्वजनिक गर्ने दिन तोक्नेछ।

‘केन्द्रबाट उम्मेदवार सार्वजनिक गर्ने भनेपछि मात्रै उम्मेदवार बाहिर ल्याउने हो,’ उनले भने, ‘कुन तहमा को उम्मेदवार बनाउने भन्ने टुंगो लगाएर नाम दराजमा राख्ने हो, अहिले नै सार्वजनिक गर्नु पर्दैन।’

कांग्रेसले सात तहबाट उम्मेदवार सिफारिस गर्न समय तालिका नै दिएको थियो। जसअनुसार वैशाख १ मा सम्पूर्ण उम्मेदवारको नाम केन्द्रमा आइपुग्ने समय तालिका थियो।

कांग्रेसले चुनावका लागि पाँचदलीय गठबन्धन बनेकोले केही समय उम्मेदवारको नाम ‘होल्ड’ गर्न भनेको छ। कांग्रेसले स्थानीय आवश्यकता र औचित्यका आधारमा चुनावी गठबन्धन गर्न सक्ने निर्णय गत चैत १५ को केन्द्रीय समितिबाट गरेको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा चुनावी तयारी र अनुगमन समिति बनेको छ। उक्त समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे बालुवाटारमा बस्नेछ।

साताकाे चर्चित
सम्बन्धित