योगेशले भने- माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्
योगेशले भने- माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्

नेपालको कम्युनिष्ट पार्टीलाई विभाजन गर्न भट्टराईले सकुनीको भूमिका खेलेको आरोप पराजुलीको थियो।

    • Bell Sanchar

    • १३ असार २०७९, सोमबार

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा रहिरहन शुभकामना दिएका छन्।

अध्यक्ष नेपालप्रति सचिव भट्टराईले आइतबार दिएको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीका कार्यकर्ताले आलोचना गरेका थिए।

भट्टराईले आइतबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै माधव नेपालले अब सन्यास लिए हुने बताएका थिए।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालले ‘एमालेका १० भाइहरू दास भएर बसेको’ टिप्पणी गरेका थिए।

त्यसप्रति लक्षित गर्दै सचिव भट्टराईले ‘माधव नेपालजस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन। उहाँ सम्हालिनु पर्छ। अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ। उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु,’ भनेका थिए।

भट्टराईले अध्यक्ष नेपालको अवकासको जीवन राम्रोसँग वितोस् भनेका थिए।

‘उहाँको आगामी अवकासको जीवन राम्रो बितोस्। उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँड्नुभएको छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरूलाई महसुस गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने। संन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन,’ उनले भनेका थिए।

सचिव भट्टराईको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीलगायतले भट्टराईको आलोचना गरेका थिए। माधव नेपाललाई भट्टराईले सन्यासको धम्की दिएको पराजुलीको भनाइ थियो।

‘माधव नेपाललाई  उचाली उचाली राजनीतिमा बैतर्नी तरेकाले सन्यासको धम्की? माधव  नेपालको समूहमा नलागेको भए  पार्टी राजनीतिमा आज कुन कुना/कुन स्थानमा पुग्ने थियो  हेक्का होला नि, इतिहास साँची नै छ,’ पराजुलीले भनेका थिए।

नेपालको कम्युनिष्ट पार्टीलाई विभाजन गर्न भट्टराईले सकुनीको भूमिका खेलेको आरोप पराजुलीको थियो।

‘नेपाल कम्युनिष्ट  पार्टीलाई विभाजन गर्न सकुनिको भूमिका खेल्नेहरूबाट  धम्की?  एमाले, नेपाल कम्युनिष्ट  पार्टी विभाजनको  बिजारोपण  गर्ने द्वन्द्वको जग बसाल्नेले आज यसरी बोल्नलाई अलिकति पनि लाज लाग्दैन?  बैगुनी केटोको उपमा त्यसै प्राप्त भएको होइन रहेछ,’ पराजुलीले आइतबार बेलुकी फेसबुकमा लेखेका थिए, ‘माधव नेपालको राजनीतिक  टोपी शिरमा नभिरेको भए आज कुन राजनीतिक  खेल मैदानमा हुनुहुन्थ्यो? विभाजनका शिरोमणिहरू यस्तो राजनीति कति दिन  चल्छ र? विभाजन र समूहबन्दीका नाइकेहरू माधव नेपालले होइन सन्यास लिने तपाईंले हो।’

पराजुलीप्रति लक्षित गर्दै सोमबार बिहान एमाले सचिव भट्टराईले पनि फेसबुकबाट नै जवाफ फर्काएका छन्।

‘कमरेड माधव नेपालले हामीमाथि पटकपटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो। उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं। अस्ती फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो। अनि मैले उहाँकै हित हुने गरी जीवन उपयोगी जवाफ फर्काए। समाजवादीका युवाहरूको चित्त दुखेछ,’ भट्टराईले भने, ‘माफ गर्नुहोला  तपाईंहरूको चित्त दुखाउनु मेरो मनसाय होइन। अब उनीहरू खुशी हुनेगरी म भन्न चाहन्छु- कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्। पदमा रहिरहनुहोस्, शुभकामना।’

साताकाे चर्चित
सम्बन्धित