२ देखि ५० रुपैयाँसम्म छुट चाडबाड सहुलियत पसलमा
२ देखि ५० रुपैयाँसम्म छुट चाडबाड सहुलियत पसलमा

४१ जिल्लामा रहेका करिब १०० आउटलेट/बिक्री केन्द्रबाट सेवा

    • Bell Sanchar

    • १७ भाद्र २०७९, शुक्रबार

सरकारले चाडबाडलाई लक्ष्य गरी सञ्चालन गर्ने सहुलियत पसलबाट २ देखि ५० रुपैयाँसम्म छुट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको अध्यक्षतामा बिहीबार बसेको बैठकले असोज १ देखि सहुलियत पसल सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । सहुलियत पसल ४१ जिल्लामा रहेका सरकारी बिक्री केन्द्र/आउटलेटमा सञ्चालन हुनेछन् । यी पसलमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जनाइन् ।

‘बिहीबार बसेको बैठकले असोज १ देखि कात्तिक १५ सम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गर्‍यो,’ उनले भनिन्, ‘सहुलियत पसलमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले छुट दिनेछन् ।’ यी कम्पनीले बजारभाउभन्दा छुट दिने उनले बताइन् । यी तीन निकायले करिब सय आउटलेटबाट खाद्यान्नमा छुट दिने जनाएका छन् ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न ब्रान्डका चामल, दाल, चिउरा, नुन, तेल, आँटा र गेडागुडी बिक्री गर्नेछ । चामल, दाल, आँटा, तेललगायतमा प्रतिकिलो ७ रुपैयाँ, कर्णालीको उत्पादन (सिमी, क्वाँटी) मा प्रतिकिलो १० रुपैयाँ छुट दिइने बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए । यो छुट रकम पोहोरको मूल्यभन्दा पनि प्रतिकिलो २ रुपैयाँ कम हो । खाद्यले गत वर्ष प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्री गरेको थियो । ‘हाम्रो मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो । खाद्यले बिक्री गर्ने सामान बजारभाउभन्दा धेरै सस्तो पर्छ,’ थापाले भने, ‘चाडबाडलाई लक्ष्य गरी थप छुट दिएका छौं ।’

खाद्यले ४१ जिल्लामा रहेका ४४ वटा आउटलेटबाट छुट दिने जनाएको छ । काठमाडौं उपत्यकाको हकमा रामशाहपथ, नख्खु, थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुनेछन् । कम्पनीको वेबसाइट/अनलाइनबाट अर्डर गरे सहुलियत दरमै सामान घरसम्म पुर्‍याइदिने सुविधासमेत छ । कम्पनीले दसैंका लागि दुई हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने तयारी पनि गरेको छ । जिउँदो खसीबोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ । खसीबोका तराईका जिल्लाबाट खरिद गरिने बिक्री वितरण विभाग प्रमुख थापाको भनाइ छ । च्यांग्रा भने मुस्ताङ र तिब्बतबाट आयात हुनेछन् । कोभिडका कारण चीनले सीमा नाका बन्द गर्दा गत वर्ष च्यांग्रा आउन सकेनन् । यसपालि थोरै भए पनि ल्याएर बजार हस्तक्षेप गर्ने खाद्यको योजना छ । ‘बजारमा खाद्यको उपस्थिति हुँदा बजारभाउ अचाक्ली बढ्दैन । विभिन्न जिल्लाबाट किनिएका खसीबोकाको खरिद मूल्यमा ढुवानी र प्रशासनिक खर्चसहित जोडेर खुद्र बिक्री मूल्य तोक्छौं,’ थापाले भने, ‘बिक्री मूल्य बजारभाउभन्दा सस्तो नै हुन्छ ।’

 

साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आफूले बिक्री गर्ने उत्पादनमा छुट दिने जनाएको छ । साल्टले मुख्यतः चिनी र नुन बिक्री गर्छ । तर यसपालि साल्टको गोदाममा चिनी छैन । ‘नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिन्छौं । अन्य वस्तुको हकमा मन्त्रालयको चिठी आएपछि निर्णय गर्छौं,’ साल्टका विभागीय प्रबन्धक ब्रजेश झाले भने । साल्टले ४२ कार्यालयमा रहेका आउटलेटबाट छुट दिने उनले जनाए । उपत्यकामा सतुंगल, कालीमाटी, जावलाखेल, जडीबुटी र भक्तपुर आउटलेटबाट छुट दिने जनाइएको छ । चाडबाडकै अवसरमा तीनवटा मोबाइल भ्यान पनि सञ्चालन हुने उनको भनाइ छ ।

दुग्ध विकास संस्थान (डीडीसी) ले पनि चाडपर्वका अवसरमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने जनाएको छ । हाल डीडीसीले घिउ (गाईं र भैंसीको मिश्रण) को मूल्य प्रतिलिटर १ हजार १ सय र गाईको घिउको मूल्य प्रतिलिटर १ हजार २ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ । यसैमा उपभोक्ताले ५० रुपैयाँ छुट पाउने डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताए ।

कम्पनीले चिज प्रतिकिलो १ हजार ६ सय २० रुपैयाँ, पनिर ८ सय ६० रुपैयाँ तथा दही प्रतिलिटर १ सय ५० रुपैयाँमा बेच्दै आएको छ । ‘गत वर्ष हामीले घिउमा मात्रै छुट दिएका थियौं, यस पटक पनिर, दही र चिजमा पनि पर्याप्त छुट दिने भएका छौं,’ झाले भने । आफ्ना १० वटा काउन्टरसँगै साल्ट र खाद्य कम्पनीका आउटलेटबाट पनि डीडीसीका उत्पादनमा छुट पाइने जनाइएको छ । चाडबाडमा सर्वसाधारणलाई छुट दिन सरकारले बर्सेनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । तर उपत्यकामा मात्रै केन्द्रित गर्दा उपत्यका बाहिरका जनताले फाइदा लिन सकेका छैनन् । ekantipur

साताकाे चर्चित
सम्बन्धित