अध्यक्ष पुष्पकमल दाहाल, गठबन्धनभित्रका दलहरूबीच सन्तुलन हुने गरी सिट बाँडफाँट गर्छौं
अध्यक्ष पुष्पकमल दाहाल, गठबन्धनभित्रका दलहरूबीच सन्तुलन हुने गरी सिट बाँडफाँट गर्छौं

उनले सिट बाँडफाँटबारे आज पनि बालुवाटारमा छलफल गरिने बताएका छन्।

    • Bell Sanchar

    • १७ भाद्र २०७९, शुक्रबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलहरुबीच सन्तुलन हुने गरी सिट बाँडफाँट गरिने बताएका छन्।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्न आज सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरुसँग कुराकानी गर्दै सिट बाँडफाँटबारे सहमति नजिक पुगेको बताए।

‘प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी छलफल भइरहेका छन्। कुन-कुन प्रदेश र कुन-कुन क्षेत्र कसले पाउने भन्ने एकैचोटी टुंग्याउने कुरा छ,’ उनले भने, ‘अहिले गठबन्धन भित्रका दलबीच संघको सिट एउटाले लिएमा प्रदेशको अर्कोलाई दिएर भोट ट्रान्सफर हुने वातावरण बनाउँदैछौं, १६५ निर्वाचन क्षेत्रका प्रदेशका सिटलाई सन्तुलन मिलाएर जाने हो।’

उनले सिट बाँडफाँटबारे आज पनि बालुवाटारमा छलफल गरिने बताएका छन्।

उनले हालसम्म गठबन्धनभित्र कुनै पनि असहमति नभएको बताए। बरु गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा दलहरुबीच छलफल भइरहेको उनले बताए।

‘हामीले एक्लै जित्ने प्रभाव भएका ठाउँहरुमा पनि गठबन्धनभित्रका अन्य पार्टीलाई समायोजन गरेर लिने कुरामा हाम्रो जोड छ, यसले मात्र परिणाम राम्रो ल्याउन सकिन्छ भन्ने टुंगोमा पुगेका छौं,’ उनले भने।

गएको निर्वाचनमा एमालेसँग तालमेल गर्दा कर्णालीमा केही कुरा छुटेकोले अबको गठबन्धनमा सन्तुलन मिलाउने उनले बताए।

‘अहिले केही कुरा मिस नहुने गरी सन्तुलन मिलाउछौं, कर्णालीमा हाम्रो नेतृत्वमा सरकार बनाउने स्थिति ल्याउँछौं,’ उनले भने।

साताकाे चर्चित
सम्बन्धित