सबभन्दा धेरै घरजग्गा कारोबार कलंकीबाट, किन बढिरहेको छ?
सबभन्दा धेरै घरजग्गा कारोबार कलंकीबाट, किन बढिरहेको छ?

पहिलो, यो कार्यालयले अन्यको तुलनामा धेरै क्षेत्रफल ओगटेको छ।

    • Bell Sanchar

    • ५ आश्विन २०७९, बुधबार

यो वर्ष भदौमा काठमाडौंका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी घरजग्गा कारोबार कलंकी मालपोतबाट भएको छ। काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा कलंकी कार्यालयबाट घरजग्गा किनबेच हुने संख्या सात सय १८ छ।

कित्ताकाट पनि यस कार्यालयबाट अन्यको तुलनामा धेरै भएको देखिन्छ। यो महिनामा एक सय ६४ कित्ता जग्गा टुक्र्याएर पाँच सय ६३ कित्ता बनाइएको छ।

अन्य मालपोतको तुलनामा कलंकी कार्यालयबाट जग्गाको कारोबार बढी हुनुमा तीन वटा कारण हुनसक्ने कार्यालयका सूचना अधिकारी कृष्ण प्रसाद गौतम बताउँछन्।

पहिलो, यो कार्यालयले अन्यको तुलनामा धेरै क्षेत्रफल ओगटेको छ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली र नागार्जुन गरी पाँच वटा नगरपालिका कलंकी कार्यालयको क्षेत्र पर्छ। काठमाडौंका तीन वडा (१३, १४ र १५) ले कालिमाटी, तहाचल, कलंकी, कुलेश्वर, स्वयम्भू लगायत क्षेत्र समेटेको छ।

कीर्तिपुर नगरपालिकामा दस वडा छन्। यसले दिलबुचाः, लायकु, अमल्सी (नयाँबजार), कुसिचा, डोक, वसिव, मानत्वाः गुत्पौ, फखित लगायतका टोल समेटेको छ। त्यस्तै चन्द्रागिरिमा १५ वटा वडा छन्। यसले दक्षिण–पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्बू, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ लगायतका क्षेत्र समेटेको छ।

दक्षिणकाली नगरपालिकामा नौ वडा छन्। यसले साविक चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर, छैमले लगायत क्षेत्र समेटेको छ। नार्गाजुन नगरपालिकामा १० वडा छन्। यसले इचंगुनारायण, सितापाइला, रामकोट, स्युचाटार, भिमढुंगा लगायतका क्षेत्र समेटेको छ।

दोस्रो कारण, कलंकी मालपोतको कार्यक्षेत्रमा पर्ने प्रायः स्थानीय तहले जग्गा वर्गीकरणको काम सकेकाले जग्गा कारोबार बढेको हो।

पछिल्लो समय विश्व आर्थिक मन्दीको प्रभाव, जग्गाको उच्चतम मूल्य वृद्धि, मौद्रिक नीति तथा भू–उपयोग सम्बन्धी ऐन नियमले जग्गाको कारोबारमा कमी आइरहेको छ। भू–उपयोग नियमावली २०७९ जेठ २३ गतेदेखि लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन-नियममा निर्देशित भएको छ। स्थानीय भू–उपयोग परिषदबाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा बढ्न सकेको थिएन।

अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्। धेरैजसो मालपोत कार्यालयले जग्गा वर्गीकरणको काम सकिएकाले जग्गाको कारोबार सुरू भएको छ।

सूचना अधिकारी गौतमका अनुसार कलंकी कार्यालयमा अहिले विभिन्न स्थानीय निकायबाट कित्ताकाटको सिफारिस आएको छ।

‘साउनमा स्थानीय निकायबाट सिफारिसै आएको थिएन। अहिले दक्षिणकाली नगरपालिकाबाहेक सबै निकायबाट कित्ताकाटको सिफारिस आएको छ,’ गौतमले भने।

तेस्रो, यो क्षेत्रमा खाली जग्गा धेरै भएकाले किनबेच बढेको हो।

अन्य क्षेत्रमा किनबेच हुने खाली जग्गा कम मात्रामा छ। प्रायः ढपक्कै घरले भरिएका छन्। कलंकी मालपोत कार्यालय भित्र पर्ने रामकोट, थानकोट, मच्छेगाउँ लगायत क्षेत्र पछि विस्तार हुँदै बाक्लो भएका हुन्। पछिल्लो समय यता जग्गाको किनबेच बढ्दो छ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना, साउनको तुलनामा भदौमा घरजग्गा कारोबार ५२ प्रतिशतले बढेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौंमा भदौमा घरजग्गा कारोबार संख्या दुई हजार ५ सय ११ संख्या छ। यस्तो किनबेच संख्या साउनमा एक हजार छ सय ५५ थियो। भदौमा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ। साउनमा २१७ कित्तालाई ६ सय २१ कित्तामा टुक्र्याइएको थियो भने भदौमा ५ सय ९३ कित्तालाई एक हजार ८ सय १२ कित्तामा टुक्र्याइएको तथ्यांक छ।

त्यस्तै रजिष्ट्रेसन दस्तुरबापत उठ्ने राजश्वमा यो एक महिनामा ६३ प्रतिशतले वृद्धि भएको छ। भदौमा रजिष्ट्रेसन दस्तुरबापत ५९ करोड २५ लाख रूपैयाँ राजश्व उठेको छ। साउनमा यो राजश्व ३६ करोड २८ लाख थियो।

घरजग्गाको कारोबार बढेसँगै पुजिँगत लाभकरबापत उठ्ने राजश्व पनि ६८ प्रतिशतले वृद्धि भएको छ। भदौमा पुजिँगत लाभकरबापत ३१ करोड ३७ लाख रूपैयाँ राजश्व उठेको छ। साउनमा यो राजश्व १८ लाख ६० करोड रूपैयाँ थियो।

साताकाे चर्चित
सम्बन्धित