चिसोमा पनि मनाङमा पर्यटक   
     चिसोमा पनि मनाङमा पर्यटक   

पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ ।

    • Bell Sanchar

    • १४ पुष २०७९, बिहीबार

मनाङ, 
हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

“चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौँ,” गौतमले भन्नुभयो, “हिमपात नभए पनि चिसो अत्यधिक छ । खानेपानी जमेको अवस्था छ । तर पर्यटक आउन रोकिएको छैन ।”

पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर आउनुपर्ने उहाँले बताउनुभयो । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने उहाँको भनाइ छ । हिमापत भएपछि भने मनाङ गाउँबाटमाथि जान सक्ने अवस्था नहुने उहाँले बताउनुभयो ।

“प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिएका छाँैं । हिउँ नपर्दा सुख्खापन बढेको छ । यसले कृषिबालीमा समेत समस्या हुने देखिएको छ”, गौतमले भन्नुभयो, “पुसमा हिमपात हुने अवस्था देखिएको छैन । माघमा मात्रै हिमपात पर्न सक्ने मौसम विभागको अनुमान छ ।”

केही मान्छेको फोक्सोले चिसोलाई सहज रुपमा अनुकूल बन्न सक्छ भने केही व्यक्तिको फोक्सोलाई चिसोले प्रतिकूल बनाउने हुँदा लेक लाग्ने समस्या हुने गौतमको भनाइ छ । कम पर्यटक हुँदा जोखिम कम हुने उहाँले बताउनुभयो ।

कम हुँदा सहज हुने र बसोबासका लागि समस्या नहुने गौतमले बताउनुभयो । तिचिलो तालतर्फ एउटा होटल हिउँ नपरेकाले सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै थोराङ्लापासतर्फ पनि एउटा मात्रै होटल सञ्चालनमा रहेको जानकारी पाएको उहाँ बताउनुहुन्छ ।

“हिमपात भएपछि हिउँ पहिरो आउन सक्ने भएकाले पूर्णरुपमा यात्रा रोकिन्छ । त्यसै पनि जोखिमपूर्ण यात्रा हो यस पदमार्गमा तर हिमपातमा अझ जोखिम बढी हुन्छ”, गौतमले भन्नुभयो । विकट हिमाली जिल्लावासीको विचार, यहाँको मौसम अनुकूलता अनुसार काम गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताउनुभयो । पर्यटकीय क्षेत्र भएकाले अझ सचेतता अपनाउनुपर्ने हुँदा सोही अनुरुप अध्ययन गरी मनाङका लागि सहज वातावरण तयार गर्ने गरी काम गर्ने उहाँको भनाइ छ ।

पर्यटकसँग सम्बन्धित निकायसँगको सहकार्य र समन्वयमा पर्यटकको जोखिम हेरी निर्णय र सहज बनाउने उहाँको प्रतिबद्धता छ । चिसोका कारण मनाङमा यति बेला विकास निर्माण बन्द छ ।

साताकाे चर्चित
सम्बन्धित