बाँकेका गाउँमा माघी मेलाको तयारी   
बाँकेका गाउँमा माघी मेलाको तयारी   

उहाँका अनुसार माघी मेलामा यस वर्ष राष्ट्रियस्तरका ख्याती प्राप्त थारु कलाकारको प्रस्तुतिसँगै थारु गाउँको पनि कक्ष रहने छ ।

    • Bell Sanchar

    • २४ पुष २०७९, आईतवार

राँझा, 
थारु समुदायको मुख्य पर्व माघीको अवसरमा बाँकेका गाउँ–गाउँमा माघी मेलाको तयारी गरिएको छ । राप्ती सोनारी गाउँपालिका–३ भुवर भवानी मन्दिर परिसरमा यही पुस २९ देखि आगामी माघको ४ गतेसम्म लाग्ने माघी मेलाको धमाधम तयारी भएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघी मेलामा यस वर्ष राष्ट्रियस्तरका ख्याती प्राप्त थारु कलाकारको प्रस्तुतिसँगै थारु गाउँको पनि कक्ष रहने छ । यसवर्ष नयाँ अभ्यासका रुपमा थारु गाउँको छुट्टै कक्ष राखेर थारु गाउँ सञ्चालनमा ल्याउने तयारी भएको छ । मेलामा करिब पाँच सय कक्ष राखेर महोत्सवकै रुपमा लैजाने तयारी भएको स्थानीय कलाकार विश्वसागर परियारले जानकारी दिनुभयो ।

महोत्सवस्थलमा रहेको भुवरभवानी मन्दिर रङ्गरोगन, मैदान ममर्त र प्रदर्शनी कक्ष दर्ताको काम भइरहेको उहाँले बताउनुभयो । माघी पर्वका अवसरमा थारु गाउँमा सञ्चालन भएका माघी मेलामा भक्तजनको उल्लेख्य सहभागिता रहेको राप्तीसोनारी–३ का अगुवा तुलसीराम थारुले बताउनुभयो ।

उहाँका अनुसार राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

“भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयो, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने गरेको मेलाका संरक्षक एव राप्तीसोनारी वडा नंं ३ का वडाध्यक्ष मिनकुमार थारुले बताउनुभयो ।

मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गर्दछ । भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै पुर्खौंदेखि लाग्दै आएको मेलाको महत्व अझै बढ्दै गएको उहाँको भनाइ छ । माघी पर्वका अवसरमा नेपालगञ्जमा पनि यही पुस २७ र २८ गते लुम्बिनी प्रदेशस्तरीय माघी महोत्सवको तयारी गरिएको छ ।

थारु कल्याण कारिणी नगरसभाको आयोजना र विभिन्न थारु सङ्घ संस्थाको समन्वयमा हुने कार्यक्रममा थारुको पहिचान झल्कने वेषभुषा र सांस्कृतिक झाँकी प्रदर्शनका साथै विविध सांस्कृतिक कार्यक्रम हुने थारु पत्रकार सङ्घ बाँकेका अध्यक्ष भगतराम थारुले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित