कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ
    • Bell Sanchar

    • १९ माघ २०७९, बिहीबार

 काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।

त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।

‘कोहलपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीतर्फ लैजाँदैछौं” उनले भने ।

अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो ।

२०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो ।

ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।

उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

चालक साजन चौधरीले उनीहरुले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए ।

जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् ।

जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्‍यो र उनीहरुलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गर्‍यो ।

९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीलाई ६/६ महिनाको दरले कैद सजाय तोकियो ।

क्षति भएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भयो ।

फैसला भएको एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए ।

दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको छ ।

साताकाे चर्चित
सम्बन्धित