तिन ठुला राजनीतिक दलहरुमा नक्कली शरणार्थीको झड्का
तिन ठुला राजनीतिक दलहरुमा नक्कली शरणार्थीको झड्का
    • Bell Sanchar

    • २८ बैशाख २०८०, बिहीबार

काठमाडौँ, 

नक्कली शरणार्थी प्रकरणले पछिल्लो समय बजार तताएको छ । देशका ठुला दलका संसददेखि पुर्वगृहमन्त्रीसम्मका व्यक्तिहरु मुछिएपछि यो प्रकरणले दलहरुको टाउको दुख्न थालेको छ ।

एमाले सचिव तथा सांसद टोप बहादुर रायमाझी यो प्रकरणको सुइँको प्रहरीले पाएको सुचना पाउनेबित्तिकै गायब भए । उनलाई जोगाउन एमाले पार्टी र पार्टीअध्यक्ष केपी शर्मा ओलीले समेत ज्यान दिए। उनले आफ्नो दललाई फसाउनका लागि जाल रचिएको भनि सार्वजनिक कार्यक्रममै टिप्पणी गरे ।

त्यस्तै प्रधानमन्त्री पत्नी तथा सांसद आरजु देउवा र पुर्व गृहमन्त्री खाँडकी श्रीमती मञ्जुको अडियो नै बाहिर आयो । आरजु जसरी हुन्छ आफुलाई बचाउने प्रयासमा महिलालाई पछि पार्न खोज्दै आफुलाई फसाएको भन्दै संसदमा ‘इमोसनल फन्डा’ फ्याँकीरहेकी छन् भने बुधबार सोहि विषयमा प्रहरीमा उजुरीसमेत दिन भ्याइन ।

शरणार्थी प्रकरण त्यतिमै साम्य भएन । बुधबार पुर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँड पनि पक्राउ परे । खाँड मात्र होइन, उनका स्वकीय सचिव नरेन्द्र केसी र उनि गृहमन्त्री हुँदा रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । बुधबार नै कांग्रसका युवा नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आपराधिक काम गर्ने जो कोहिलाई कारबाहीको दायरामा ल्याउन खुट्टा नकमाउन आग्रह गरेका छन् ।

बैशाख २१ गते पक्राउ पुर्जी जारि भएपछि फरार रहेका नेता टोप बहादुर रायमाझीलाई एक हप्तापछि बल्ल पार्टीले निलम्बन गरेको छ ।  मंगलबार भएको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । गत बिहीबार गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका रायमाझी त्यसपछि बेपत्ता छन् ।

पार्टीले आफ्ना नेता तथा कार्यकर्ताले गरेका गलत कामको बचाउ गर्ने भन्दा पनि खबरदारी र कारबाही प्रक्रियामा सहजीकरण गरिदिनु पर्ने हो ।  ढिलै भए पनि उनलाई पार्टीले कारबाही गरेको छ ।

केहि दिन अघिसम्म बाजाबाज र एक अर्काको आरोप प्रत्यारोपमै व्यस्त रहने सत्ता पक्ष र प्रतिपक्ष दलका शीर्ष नेताहरु भेटघाट र छलफलमा व्यस्त छन् । जनताको आँखामा छारो हाल्नका लागि संसद संचालनबारे छलफल भइरहेको भनिए पनि शरणार्थी प्रकरणमा ठुला माछा समातिंदै गएपछि नेताहरुमा झस्का पसेको आम बुझाइ छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ रहेको छर्लङ्ग भइसकेको छ ।  यस्तो बेलामा सरकारले ती गिरोहहरुलाई कारबाही गरि राजनीतिप्रति बढेको जनताको वितृष्णालाई केहि कम गर्ने मौका छ । साथै जनतालाई सुशासनको अनुभूति दिलाउने अवसरका रुपमा पनि यो प्रकरणलाई छिनोफानो लगाउन जरुरी छ ।

साताकाे चर्चित
सम्बन्धित