बोर्डले यसवर्षको एसईई नतिजा पुरानै ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने
बोर्डले यसवर्षको एसईई नतिजा पुरानै ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने
    • Bell Sanchar

    • २१ असार २०८०, बिहीबार

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०७९) को नतिजा बिहीबार सार्वजनिक गर्दैछ ।

बोर्डले यसवर्षको नतिजा पुरानै ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने बताइसकेको छ । जस अनुसार प्राप्ताङ्कका आधारमा ई ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र दिइन्छ ।

हाल प्रचलनमा रहेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क नल्याउने विद्यार्थीको प्रमाणपत्रमा एनजी अर्थात् (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । तर यसवर्ष भने यो नियम लागू नहुने भएको छ ।

बिहीबार सार्वजनिक गरिने नतिजामा भने विद्यार्थी फेल हुँदैनन् । तर उनीहरुले ल्याउने अंकको आधारमा के विषय पढ्न पाउने र के नपाउने भन्ने सरकारले तोकिदिएको छ ।

कक्षा ११ मा भर्ना पाउन अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनैपर्छ । विज्ञान पढ्न विज्ञान र गणितमा सी प्लस ल्याउनैपर्छ । आठ विषयमा परीक्षा दिँदा गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानबाहेकका तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा डी ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् ।

कक्षा ११ मा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । यी समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए २ ल्याउनैपर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् ।

सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो ।

समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् ।

सैद्धान्तिक विषयतर्फ सी वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् ।

मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् ।

बिहीबार सार्वजनिक गर्न लागेको एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित