सकारात्मक कार्य गर्नुपर्छ बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा 
   सकारात्मक कार्य गर्नुपर्छ बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा 
    • Bell Sanchar

    • १५ आश्विन २०८०, सोमबार

भक्तपुर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने बताउनुभएको छ ।

ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताँथलीमा सञ्चालित श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा उहाँले बालबालिका र ज्येष्ठ नागरिकको खानपान तथा बसोबासका लागि आयोजना गरिएको महायज्ञ सकारात्मक कार्य भएको बताउनुभयो । “सामाजिक क्षेत्रमा गरिएका कामले मानिसको पहिचान बनाउँछ । महायज्ञले लिएको सङ्कल्प पूरा गर्न सबैको सहयोग आवश्यक छ”, मन्त्री आचार्यले भन्नुभयो ।

महायज्ञमा सङ्घीय सुनुवाइ समितिका सभापति एवं सङ्घीय सांसद किरणकुमार शाहले ज्येष्ठ नागरिकको हकहितले नै धर्म प्राप्ती हुने बताउनुभयो । उहाँले राजनीतिभन्दा माथि उठेर सनातन धर्म र संस्कृतिका बारेमा सबैले सिक्नुपर्ने बताउनुभयो । सडकमा रहेका बालक तथा ज्येष्ठ नागरिकलाई निःशुल्क गास, बास र कपासको व्यवस्थाका महायज्ञद्वारा थालिएको सङ्कल्प पूरा हुनुपर्ने उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा ४० बढी ज्येष्ठ नागरिकलाई सम्मान

विराट पितृ मुक्ति महायज्ञमा ७० वर्ष माथिका ४० भन्दाबढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । महायज्ञमा सहभागी भएका विभिन्न जिल्लाबाट आउनुभएका ज्येष्ठ नागरिकलाई महायज्ञका गुरु एवं सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो । महायज्ञ असोज २७ गतेसम्म सञ्चालन हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित