बर्लिन पर्यटन मेला’मा नेपालले सहभागिता जनाउने   
बर्लिन पर्यटन मेला’मा नेपालले सहभागिता जनाउने   
    • Bell Sanchar

    • २३ पुष २०८०, सोमबार

काठमाडौँ

अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला नेपालको पर्यटकीय उत्पादन र सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उपयुक्त माध्यम हो । विश्वभरका पर्यटन व्यवसायीको जमघट हुने पर्यटन मेलामा नेपालले आफ्ना पर्यटकीय सेवा अन्य मुलुकमा बजारीकरण मात्रै हैन नेपाल गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्छ । त्यसैले नेपालले विश्वकै ठूलो पर्यटन व्यापार मेला, ‘आइटिबी’, ‘डब्लुटिएम’ जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउदैँ आएको छ ।

यसै सन्दर्भमा नेपालले आगामी फागुनको तेस्रो साता जर्मनीको बर्लिनमा आयोजना हुने विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ मा सहभागिता जनाउने भएको छ । निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोएिसन (पाटा) नेपाल च्याप्टरले बार्लिनमा आगामी फागुन २२ देखि २४ सम्म हुने मेलामा सहभागिता जनाउने भएको हो । मेलामा नेपालको तर्फबाट ३७ पर्यटन संस्थाको सहभागिता रहने पाटा नेपाल च्याप्टरले जनाएको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारीकरणका लागि आइटिबी, डब्लुटिएम जस्ता कार्यक्रम अपरिहार्य रहेको र नेपालको उपस्थिति छुटाउन नहुने भएकाले सदस्य संस्था तथा पर्यटन उद्योगका सरोकारवाला संस्थाको माग बमोजिम मेलामा सहभागिता जनाउन लागिएको हो ।

कोरा टुरका प्रबन्ध निर्देशक विजय अमात्यले नेपालको पर्यटन प्रवद्र्धनको प्रभावकारी बजारीकरण गर्ने उपयुक्त थलो अन्तर्राष्ट्रिय पर्यटनमेला भएकाले नेपाल गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“देशको पर्यटनलाई अगाडि बढाउने महत्वपूर्ण विषय भनेको देशको ‘भिजिबिलिटी’ हो । विश्वका पर्यटकलाई नेपाल चिनाउने मुख्य आधार पनि मेला भएकाले नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका व्यवसायी सरोकारवालाका लागि यस्ता फोरम उपयुक्त माध्यम बन्छन् । त्यसैले नेपालको सक्रिय र प्रभावकारी सहभागिता जनाउनैपर्छ ।”

मेलामा विश्वभरका होटल, टुरिज्म बोर्ड, टुर अपरेटर, सेवा प्रदायक, एयरलाइन्सलगायत कम्पनी सहभागी हुनेछन् । बर्लिनमा मार्चमा वार्षिक रुपमा मेला हुँदै आएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन र बजारीकरणमा सक्रिय पाटाले गत जुनमा हिमालयन ट्राभल मार्टको चौथो संस्करण सम्पन्न गरेको थियो । विगत वर्षमा नेपाल पर्यटन बोर्डले आइटिबीलगायत अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउँदै आएको थियो ।

पाटा नेपाल च्याप्टरको स्थापनाकालदेखि नै आइटिबी, विश्व पर्यटन मेला ‘डब्लुटिएम’लगायत अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सरकारकोतर्फबाट र निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको समन्वयमा आयोजना गर्नेगर्दथ्यो । नेपाल पर्यटन बोर्डको स्थापना भएपछि बोर्डले सार्वजनिक निजी साझेदारी संस्थाको रुपमा अन्तर्राष्ट्रिय पर्यटन मेलामा हरेक वर्ष सहभागिता जनाउने गरेको थियो ।

चालु आर्थिक वर्षमा बोर्डले कुनैपनि अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाएको छैन । नेपाल पर्यटन बोर्ड, विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि, २०७८ पारित नहँुदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको छ । गत असोज ६ गते बोर्डको कार्यकारी समितिबाट पारित बोर्डको आव २०८०÷८१ को बजेट तथा कार्यक्रमको निर्देशनमा सार्वजनिक खरिद कार्यालयबाट सहमति प्राप्त गरि मात्र अन्तर्राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्ने÷गराउने निर्देशन भएको बोर्डले उल्लेख गरेको छ । बोर्डका पदाधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच पटक–पटक छलफल भए पनि अझै टुङ्गो लाग्न सकेको छैन ।

साताकाे चर्चित
सम्बन्धित