कृषिमा आत्मनिर्भर बन्दै म्याग्दीका महिला   
कृषिमा आत्मनिर्भर बन्दै म्याग्दीका महिला   
    • Bell Sanchar

    • २५ पुष २०८०, बुधबार

म्याग्दी

पछिल्लो समय म्याग्दीको कृषि क्षेत्रमा महिलाको सहभागिता बढे्सँगै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । युवा तथा पुरुष वैदेशिक रोजगारका लागि विदेशिने क्रम बढ्दै गएपछि यहाँको कृषि क्षेत्रमा महिला र प्रौढ पुरुषको सहभागिता बढ्दै गएको हो ।

म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय व्यावसायिक खेती गर्ने महिलाको सङ्ख्या बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कूल खेतीयोग्य जमिनको ६९ प्रतिशत जमिनमा परम्परागत र व्यावसायिक खेती गरिएको छ ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाका महिला व्यावसायिक तरकारी तथा फलफूल खेतीमा लागेका केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका अधिकांश महिला व्यापार÷व्यवसाय र पशुपालनमा छन् ।

राम्रोसँग उज्यालो हुन नपाउँदै घर नजिकैको तरकारी बारीमा पुग्नुहुन्छ राधिका सापकोटा । उहाँले दरबाङ बजारको पूर्वतर्फ रहेको भिरालो जमिन र पाटोबारीमा बन्दा, गोभी, साग, गोलभेडालगायत तरकारी लगाउनुभएको छ । बारीमा पुगेर तरकारी टिप्ने र बिक्रीका लागि बजारसम्म लैजाने व्यवस्था आफैले मिलाउने गरेको सापकोटाले बताउनुभयो ।

उता मङ्गला गाउँपालिकाकी जुना कँडेलको दिन पनि तरकारीको स्याहार, सम्हार र गोडमेलमै बित्ने गर्छ । मालिका गाउँपालिका–५ की देवी सिउथानी र बेनी नगरपालिका–३ की टीकाकुमारी पुनको दैनिकी पनि सुन्तला टिप्न र बिक्री गर्नमा व्यस्त देखिनुहुनछ । व्यापारी गाडी लिएर सुन्तला खरिद गर्न गाउँमा नै आएपछि यतिबेला म्याग्दीका सुन्तला किसानलाई टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ । यी त केही उदाहरण मात्रै हुन् ।

मालिका–१ निस्कोटकी रुपा सुनारले यसवर्ष आलु, सिमी, कोदो र सुन्तला बिक्री गरेर रू एक लाख ९० हजार आम्दानी गरेको बताउनुभयो । उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि तीन वर्षदेखि मलेसियामा हुनुहुन्छ । आफूले फलफूल, तरकारी र अन्न कृषिबाट उत्पादित वस्तु बिक्री गरेको पैसाले घरखर्च, छोराछोरीको पढाइ र अन्य घरायसी आउने काम खर्च गर्ने गरेको उहाँले जानकारी दिनुभयो । श्रीमान्ले विदेशमा कमाएको पैसा बचत हुनेगरेको उहाँको भनाइ थियो ।

पछिल्लो समय जिल्लाका महिला तरकारी, फलफूल र पशुपालनमार्फत स्वावलम्बी बन्दै गएका मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताउनुभयो । जिल्लाका स्थानीय तहका कृषि शाखाका अनुसार म्याग्दीमा पछिल्लो समय कृषि पेसालाई नै आम्दानीको माध्यम बनाउने र व्यावसायिक रुपमा कृषि पेसामा लाग्ने महिलाको सङ्ख्या बढेको छ ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले गाउँमा खेतीपाती गरेर जीविकोपार्जन गर्ने महिलाको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने भएकाले स्वभाविक रुपमा कृषिमा पनि पुरुषको तुलनामा महिलाको संलग्नता बढी हुने गरेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–२०७८’ अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको सङ्ख्या १३ प्रतिशतले बढेको छ भने पुरुषको सङ्ख्या घटेको छ । उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता पनि घट्दै गएको जनाइएको छ ।

कृषिमा युवाको सङ्ख्या घट्नुको कारण रोजगार र अध्ययनको सिलसिलामा विदेशिनु रहेको राष्ट्रिय कृषि गणनाको तथ्याङ्कमा उल्लेख छ । “युवा विदेशिएपछि त्यसको असर कृषिमा देखिएको हो । युवा जनशक्ति विदेशिएसँगै कृषि क्षेत्रमा महिला र प्रौढहरूको सङ्ख्या बढ्नु बाध्यात्मक परिस्थितिको उपज हो”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो ।

म्याग्दीमा पछिल्ला समय व्यावसायिक खेतीमा महिलाको सहभागिता आशा लाग्दो गरी बढेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार अनुसार विगत १० वर्षको तुलनामा जिल्लामा फलफूल र तरकारी उत्पादन २० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ भने यसबाट महिलाको आम्दानी पनि बढेको छ ।

जिल्लामा ५५ प्रतिशतभन्दा बढी टुक्रे जग्गा भएकाले कृषिमा लाग्ने परिवारको सङ्ख्या बढेको जनाउँदै बाँस्तोलाले कृषियोग्य जमिन भने घटेको बताउनुभयो । जमिनको कित्ताकाट र किसानको परिवार बढेको देखिएको उहाँको भनाइ थियो ।

“महिला र प्रौढ उमेरका पुरुष मात्रै खेतीपातीमा छन् । युवा पुस्ताको आकर्षण कम छ”, जिल्लाका अगुवा किसान चन्दबहादुर कार्कीले भन्नुभयो । २०६८ को कृषि गणनाअनुसार २५ वर्षभन्दा मुनि उमेर समूहका मुख्य किसानको हिस्सा चार दशमलव दुई प्रतिशत थियो भने २०७८ सम्म आइपुग्दा यो उमेरका मुख्य किसानको हिस्सा एक दशमलव छ प्रतिशतमा झरेको छ । एक दशकमा २५ देखि ३५ वर्ष उमेर समूहका किसान २२.१ प्रतिशतबाट घटेर १२.९ प्रतिशतमा झरेको छ । त्यस्तै, ३६ देखि ४६ वर्ष उमेर समूहका किसानको सङ्ख्या पनि घटेको गणनाले देखाउँछ ।

जिल्लामा पछिल्लो समय खाद्यान्न बालीमा भन्दा नगदेबालीमा आकर्षण बढेको देखिएको छ । तरकारी, फलफूल, बेमौसमी खेती जस्ता तत्कालै आयआर्जन हुने खेतीमा यहाँका महिलाको आकर्षण बढेको कृषि प्राविधिकले बताएका छन् ।

गाउँमा पुरुष कृषि मजदुर पाउन कठिन हुन लागेको बेनी नगरपालिका–२ का क्षेत्रबहादुर कटुवालले बताउनुभयो । “गाउँमा काम गर्न सक्ने उमेरका पुरुष नै छैनन् । सबै अध्ययन र रोजगारीका लागि विदेश वा सहरतिर छन् । यहाँको कृषि क्षेत्र महिलाको बलबुतोमा थामिएको छ”, उहाँले भन्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित